काठमाडौं, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाड.मू शेर्पा आईतबार विवाह बन्धनमा बाँधिनुभएको छ।
काठमाडौंको बालुवाटारस्थित एलिस पार्टी प्यालेसमा आजै बैबाहिक कार्यक्रम र रिसेप्सन रहेको जनाइएको छ ।
मोडल जाड.मू मुख्यमन्त्री राईभन्दा आधाभन्दा पनि बढी कान्छी हुनुहुन्छ । मुख्यमन्त्री राईको उमेर ४९ वर्ष पुगेको छ भने प्रेमिका हुँदै दुलही बन्न पुग्नुएकी जाड.मू शेर्पाको उमरे जम्मा २३ बर्ष छ ।
विवाहमा बेहुला र बेहुली किराँती र शेर्पा समुदायको मौलिक तथा परम्परागत भेषभूषामा सजिनुभएको उहाँहरुको तस्विरमा देखिएको छ । बिहे परम्परागत विधिबाट सम्पन्न भएको छ ।
विवाहको रिसेप्सन आजै हुने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मुको संखुवासभा । जाड.मू हाल काठमाडौंमा हजुरआमासँग बस्दै आउनुभएको छ उहाँका बाबु–आमा अमेरिकामा हुनुहुन्छ।
काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट माध्यमिक शिक्षा पूरा गर्नुभएकी जाड.मूले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिनुभएको छ।
१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिनुभएकी जाड.मूले त्यसपछि विभिन्न सुन्दरी प्रतियोगिता हुँदै मिस मंगोल नेपालको ताज पहिरिनुभएको थियो।
मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आउनुभएकी ज्याङ्मूले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गर्नुभएको छ।
भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका ३ मा २०२७ साल फागुन ११ जन्मनुभएका शेरधन राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएर जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बन्नुभएको हो।
२०५४ सालमा एमाले विभाजन पछि जिल्लामा पार्टीको नेतृत्व सम्हाल्नुभएका उहाँ २०५६ सालको संसदीय निर्वाचनमा कान्छो सांसद बनेर सिंहदरबार भित्रिनुभएको थियो।
२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित राई दोस्रो संविधानसभा विजयी भएर अएपछि व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा काम गर्ने अवसर पाउनुभएको थियो ।
उहाँले के.पी.शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा पहिलो पटक सूचना तथा सञ्चार मन्त्री बन्ने अवसर पनि पाउनुभएको हो।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा विजयी बन्नुभएका राई प्रदेश १ को पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पनि पाउनुभयो।