Prakash Adhikari January 29, 2021

 

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले अदालतमा मुद्दा पर्यो भनेर न्यायको पक्षमा आवाज उठाउन नसक्नेहरुलाई कायरको संज्ञा दिनुभएको छ ।

आज रत्नपार्कको शान्तिबाटिका प्रतिनिधि सभा विघटनविरूद्ध काठमाडौं कांग्रेसले गरेको विरोध सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता गगन थापाले न्याय माग्दा अदालतको अपहेलना हुने भए आफूहरूलाई मुद्दा लगाउन समेत आग्रह गर्नुभएको छ।

उहाँले पूर्वप्रधानन्यायाशीशहरूले अदालतको ‘अ’ पनि उच्चारण नगरे पनि एक साताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको प्रसंग उल्लेख गर्दै भन्नुभयो, ‘न्याय माग्दा पनि अदालतको अपहेलना हुन्छ? यो कस्तो तर्क हो, निरंकुशहरुको ??’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि ठूलो कुठाराघात भएको बताउदै कांग्रेसका युवा नेता थापाले प्रतिगमनकारी कदम सच्याउन सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो।

उहाँले ७० बर्षसम्म प्रजातन्त्रको लागि लडेका नेपालीहरुले ओलीको प्रतिगमनविरुद्ध ‘न्यायको पक्षमा आवाज उठाएको बताउदै भन्नुभयो, ‘बोल्दा अपहेलना हुने भए हामी सबैलाई अपहेलना मुद्दा लगाइयोस् श्रीमान ।’

उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले प्रतिनिधि सभाको होइन संविधानकै विघटन गर्न खोजेकोले यसमा सबै सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले राजाहरूले जस्तै जनताको अधिकार खोसेको आरोप लगाउदै भन्नुभयो ‘तपाईंको नाम अधिकार खोस्ने शासकका पङ्तिमा लेखिनेछ जनताका अधिकारका लागि लड्नेहरूको पानामा तपाईंको नाम भेटिँदैन।’

उहाँले नेपाली कांग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको रक्षा अधिक महत्वको विषय भएकोले चुनावको जितहार र सिटको हिसावको कुरा गरेर बस्न नहुने बताउनुभयो।

युवा नेता थापाले अदालतबारे बोल्दैनौं भन्नेहरू कायर भएको बताउदै भन्नुुभयो, ‘विपीका कार्यकर्ता रामशाहपथ र अदालत देखेर परपर भाग्ने ? ती कायर हुन ।’

 

Share Now

Leave a comment.