काठमाडौ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टीको बहुमत केन्द्रीय सदस्यको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षीय कार्यकर्ताहरुले आज राजधानीमा भब्य जुलुस निकालेका छन् ।
यो जुलुस प्रधानमन्त्री ओली पक्षीय सरकारी नेकपाले यही माघ २३ गते राजधानीमा निकालेको जुलुसभन्दा ठूलो भएको बताइएको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चदै प्रतिनिधिसभा विघटन गरेर राजनीतिक उपलब्धिलाई हरण गर्ने प्रतिगामी कदम चालेको भन्दै सो कदमसंग असहमत पार्टीको बहुमत सदस्यहरुको अगुवाईमा प्रधानमन्त्रीको कदमका विरुद्ध देशव्यापी विरोध भैरहेको छ ।
आफ्नो कदमको समर्थमा प्रधानमन्त्रीले माघ २३ गते राजधानीमा विशाल प्रदर्शन गरेपछि त्यसलाई काउण्टर दिन आजको विरोध प्रदर्शन र सभा आयोजना गरिएको हो ।
आजको सभामा २ लाख सहभागी उतार्ने दावी प्रचण्ड नेपाल पक्षीय नेताहरुले गर्दै आएका छन् ।
दाहाल–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो ।
विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले आजको विरोध कार्यक्रमको अध्यक्षता हितबहादुर तामाङ गर्ने,स्वागत भाषण जीवनराम श्रेष्ठले गर्ने र कार्यक्रम सञ्चालन लीलामणि पोखरेलले गर्ने जानकारी दिनुभएको छ ।
उहाँले आजको विरोधसभालाई अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ । आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो ।


















