काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ सालको भाद्र ७ गतेदेखि १० गतेसम्म राजधानी काठमाडौंमा हुने भएको छ ।
बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा,ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको महासचिव पूर्वबहादुर खड्काले यस सम्बन्धी प्रस्ताव राख्नुभएको छ ।
यो संगै पार्टीका केन्द्रीय कार्य समितिसहित सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि ६ महिना थपिने भएको छ ।
महमामन्त्री खड्काको प्रस्तावमा भनिएको छ, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ ।
जनसम्पर्क समितिको पनि छ महिना थप
बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको पनि कार्यकाल छ महिना थप गर्न प्रस्ताव गरेको छ ।ः
यस सम्बन्धी प्रस्तावमा भनिएको छ, म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको थप गरिएको ६ महिनाको अवधी समाप्त भएको र नेपाली जनसम्पर्क समिति यू.के. को अवधी पनि समाप्त भएकोले उल्लेखित देशहरु स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी थप गर्ने ।
नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति ओमनबाट पठाइएका क्रियाशील सदस्यलाई मान्यता दिएको छ । यससम्बन्धी प्रस्तावमा भनिएको छ, जनसम्पर्क समिति ओमानबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ (४१०) र नविकरण (१००) को नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।
क्रियाशीलबारे
बुधबारको बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरणबारे नयाँ तालिका सार्वजनिक गरिएको छ । जस अनुसार (क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ फागुन १५ गतेभित्र । (ख) विधानले तोकेको कार्यविधि बमोजिम एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र जिल्ला कार्यसमितिले नवीकरणको कार्य सम्पन्न गर्ने अवधि— २०७७ फागुन २८ गतेभित्र । वडा कार्यसमितिले पालिका कार्यसमितिलाई बुझाउने ः फागुन १२ गते भित्र । पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने : फागुन १६ गते भित्र । प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई (एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई) बुझाउने : फागुन २० गते भित्र । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नवीकरणको फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने : फागुन २८ गते भित्र ।
(ग) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—
(२) एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०७७ चैत्र १० गते भित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि— २०७७ चैत्र मसान्त भित्र ।
(ङ) नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ ज्येष्ठ मसान्त भित्र ।
(च) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७८ असार ७ गतेभित्र
अधिवेशन
(क) गाउँ/नगर वडा अधिवेशन– २०७८ असार २० गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७८ असार २२ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ असार २५ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असार २७ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असार ३० गते
(च) प्रदेश अधिवेशन– २०७८ श्रावण ६ गते
(छ) केन्द्रीय महाधिवेशन : २०७८ भाद्र ७,८,९ र १० काठमाडौं
विधानमा पनि संशोधन
नेपाली कांग्रेसमा विभिन्न राजनीतिक दलहरु एकीकरण र समाहित भएकोले पार्टीको विधानमा राखिएका क्रियाशील सदस्यता लिएका निश्चित अवधि पुगेका व्यक्तिहरुमात्रै विभिन्न तहका पदाधिकारीमा उम्मेद्बार बन्न पाउने सम्बन्धी विधानमा रहेका प्रावधानहरुले समायोजित भएर अन्यपार्टीबाट आएका नयाँ सदस्यहरुलाई अप्ठ्यारो पार्ने भएकोले त्यसलाई संशोधन गरेको छ ।
पार्टीको विधानमा लगातार दुईपटक भन्दाबढी सभापति बन्न नपाइने प्रावधान राखिएकोले सो प्रावधानले धेरै जिल्ला सभापतिको निरन्तरतामा प्रश्न उठाउने भएकोले त्यसलाई १३ औं महाधिवेशनबाट गणना गरिने पनि स्पष्ट पारिएको छ ।


















