Prakash Adhikari February 18, 2021

धुन्चे(रसुवा), ६ फागुन । निर्माणको अन्तिम चरणतिर पुग्न लागेको रसुवागढी जलविद्युत् आयोजना कोरोना भाइरसको विश्व महामारीको कारण विलम्बित हुन पुगेको छ ।

आयोजनामा इलेक्ट्रिकल उपकरणहरु जडान गर्ने अवस्था आउनै लाग्दा कोरोना महामारीको विश्वब्यापी असरका कारण विदेशी कामदारहरु काम छोडेर स्वदेश फर्किएका थिए ।

आयोजनाको इलेक्ट्रिकल उपकरणको जडानका लागि भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिकहरु गत २०७६ चैतको दोस्रो साता स्वदेश गएका थिए । आयोजनाका प्रमुख  छवि गैह्रेले प्राविधिक जनशक्ति फर्केपछि कामले गति लिने आयोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यसका लागि ठेकेदार कम्पनी भोइथ इण्डियालाई पत्राचार गरिएको पनि बताउनुभयो ।

भोटेकोसीको पानीलाई सदुपयोग गर्दै १११ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन २०१४ देखि निर्माण कार्य शुरू भएको रसुवागढी जलविद्युत् आयोजनामा निर्माण गर्नुपर्ने चार हजार १८५ मिटर सुरूङ गत २०७६ साल भदौ ४ गते देखि तयार भइसकेको  प्राविधिकको भनाइ छ ।

प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीन वटा फ्रान्सिस टरवाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुर्याईसकिएको भ्वोइथका प्रतिनिधिले जानकारी गराएका छन् । ।

सुरूङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले आफ्ना काम अगाडि बढाइरहेको छ । कामदारलगायत सबैको हितका लागि विद्युत् आयोजनाको तर्फबाट कोभिड–१९ बाट सुरक्षित पार्ने क्वारेन्टिनका साथै उपचारको व्यवस्थासमेत मिलाइसकेको आयोजनाले जनाएको छ ।

आगामी २०७९ साल जेठ मसान्तसम्म विद्युत् उत्पादन गरिसक्नु पर्ने पछिल्लो कार्यतालिका तयार भइसकेको बताउँदै आयोजनाका प्रमुख छवि गैह्रेले यथेष्ट जनशक्ति पठाउन भोइथ कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । विद्युत्गृृहका उपकरण जडान गराउन एक वर्षको समय लाग्ने अनुमान गरिएको छ ।

कर्मचारी सञ्चयकोषको ऋण सहयोगअन्तर्गत ब्याजबाहेक रू १३ अर्ब ६५ करोडको लागतमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले समग्रमा ८० प्रतिशत प्रगति पूरा गरिसकेको समेत आयोजना प्रमुख गैह्रेले जानकारी दिनुभयो । ब्याजको व्ययभार कम गर्न प्राप्त गरिने ऋण कार्यप्रगतिको आधारमा किस्ता किस्ताको दरले लिने गरेको आयोजनाले बताएको छ ।

यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्राय पूरा भएको, ७१३ मिटर लम्बाइको टेलरेस सुरूङको ब्रेकथ्रु सम्पन्न भई थोरै भागको सफाइ गर्न बाँकी रहेको र १६ मिटर चौडाइ र ६१ मिटर उचाइको सर्च ट्याङ्को निर्माण कार्य भइरहेको छ । बालुवा थिग्र्याउने डिसेन्ड्री पोखरीमा जडानका लागि चीनबाट मगाइएका सामग्री भने कोरोनाका कारण केरूङमा रोकिएको र ल्याउने प्रक्रिया अगाडि बढेकोले उक्त पोखरी छिट्टै सम्पन्न हुने बताइएको छ ।

निर्माणका क्रममा बाहिरी भागमा केही असहज भए पनि भूमिगत संरचना भएका कारण वातावरणीय हिसाबले रसुवागढी जलविद्युत् आयोजना दिगो र भरपर्दाे हुने वातावरणविद् तेज साउथले बताउनुभयो । निर्माणमा ३० जना प्राविधिक एवं ४३० मजदुर कार्यरत छन् । ती मध्ये ७० जना चिनियाँ नागरिक रहेको आयोजनाले जानकारी दिएको छ ।

Share Now

Leave a comment.