काठमाडौं, ६ फागुन। नेपाली सेनाको नेतृत्वमा निर्माण भैरहेको काठमाडौं(तराइरमधेस द्रुतमार्गको जटिल कार्य मानिएको सुरुङ र पुल निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भएको छ।
चुरे भावर क्षेत्रमा पर्ने खण्डको अत्यन्तै जटिल मानिएको द्रुतमार्गको सुरुङ निर्माणलाई दुई प्याकेजमा ठेक्का निकालिएको छ। पहिलो प्याकेजमा छोक्रे डाँडादेखि धेद्रेखोला सम्मको ( चेनेज २६ + ३५० देखि ३० + ६९५)को करिब साढे ४ किलोमिटर खण्ड छ जहाँ महादेवडाँडामा निर्माण हुने लामो सुरुङसहित मोटरेवल पुल र सडकको सेक्सन पनि छ।
काठमाडौं, तराई फाष्ट ट्रयाकको यो सबैभन्दा लामो सुरुङमार्ग पनि हो।
दोस्रो लटमा धेद्रेखोलादेखि लानेडाँडा सम्मको ( चेनेज ३०+ ६९५ देखि ३५ + ३१६ ) सम्मको ४ किमी ६२१ मिटर खण्डका सुरुड.,पुल र सडक निर्माणको टेण्डर गरिएको छ । यसमा सिम्पानीदेखि चालिसे खोल्सी १किमी३ सय ७० किमि र लेनडाडामा घट्टेपाखादेखि बाँदरेखोल्सी १ किमी ४ सय किमि गरी दुई वटा सुरुङमार्ग पुल र सडकको सेक्सन पनि छ।
यी दुई लटका गरी करिब ६ किमी ७० मिटर सुरुङमार्ग मकवानपुर जिल्लामा निर्माण हुनेछ।
सेनाका अनुसार आगामी साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको छ। हजार किमिभन्दा बढी सडक र सयौं साना-ठुला पुलहरू निर्माण गरिसकेको भए पनि सुरुङमार्ग बनाएको अनुभव नेपाली सेनासँग छैन। सोही कारण पर्याप्त तयारी गर्दा ठेक्का निकाल्न समय लागेको सेनाले जनाएको छ।
उक्त टेण्डरमा इच्छुक निर्माण कम्पनीले ४५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदनको समय सकिएपछि मूल्यांकन हुनेछ। त्यसपछि मूल्यांकन सकेर निर्माणको जिम्मा दिने तयारीमा सेना छ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्नु पर्नेछ। यस्तो मोडलमा निर्माण गर्दा प्लानिङ, डिजाइन, निर्माण र कमिसनिङ निर्माण कम्पनी आफैंले गर्नु पर्नेछ। साथै पर्फरमेन्स बेसका आधारमा ठेक्का लगाउन लागिएकाले निर्माण सकेको पाँच वर्षसम्म सुरुङमार्ग ठेकेदारकै जिम्मामा हुनेछ।
सुरुङमार्ग निर्माण सकिएपछि एक वर्ष डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) हुनेछ। उक्त अवधिमा बिग्रेभत्केको मर्मतको जिम्मेवारी निर्माण कम्पनीमा रहने छ। बाँकी चार वर्ष मेन्टेनेन्सको पिरियड हुन्छ। एक वर्षको सबै जिम्मा निर्माण कम्पनीको हुने भए पनि बाँकी चार वर्षका लागि आवश्यक सामान्य मेन्टेनको बजेट आयोजनाले दिनेछ।
माटो र ग्रेगानको भूबनोट भएको चुरिया पहाडमा कडा पहरा वा चट्टा नपाइने भएकोले सेनाले मर्मत संभारको जिम्मेवारी पनि निर्माताको हुनेगरी ठेक्का निकालेको बताइएको छ ।
सुरुड.मार्गमा कडा चट्टान परेन भने खनिसकेको सुरुड.माथिबाट माटो र कमजोर ढुंगा वा चट्टानहरु झर्ने गर्दछ । चमेलिया जलविद्युत आयोजनामा यस्तै समस्या उत्पन्न भएपछि त्यहाँ कार्यरत चाइनिज कम्पनीलाई निकै ठूलो समस्या आएको थियो । नियोक्ता विद्युत प्राधिकरणले टनेल स्क्वीजिड.को समाधान पनि नदिएको, ठेकेदारलाई उसको देशको प्रविधि अपनाएर समस्या समाधान गर्ने स्वतन्त्रता पनि नदिएको र ठेक्काको तयारीमा यस्तो समस्या आउनसक्ने अनुमान समेत नभएकोले सो समस्या समाधान गर्दा लागेको अतिरिक्त सिमेन्ट, डण्डी र अन्य निर्माण सामग्री सहित थप जनशक्तिको लागि लागेको अतिरिक्त रकमको भेरिएसन नेपाल विद्युत प्राधिकरणले पारित नगरेकोले निर्माता ठेकेदार ठूलो मर्कामा परेको थियो ।
उसले त्यसबापतको दावी भुक्तानी र त्यसका कारणले भएको विलम्ब तथा जनशक्ति निष्क्रिय बस्दा भएको नोक्सानीको दावी भुक्तानी अझै नपाएको गुनासो गरिरहेको छ ।
नेपाली सेनाले काठमाडौं मधेश तराई फाष्ट ट्रयाक निर्माणको प्रिक्वालिफिकेशनको सूचना २०७६ फागुनमा निकालेको थियो। पुस १० गते सेनाले निकालेको सूचना पहिलो प्याकेजमा चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले छनोट भएका छन् भने
दोस्रो प्याकेजमा पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन लिमिटेड मात्रै छनोट भएको छ।
अहिलेको टेण्डरमा पहिलो प्याकेजमा सूचीकरण भएको दुई र दोस्रोमा एक कम्पनीले मात्रै आवेदन दिन पाउनेछन्।
यस विषयमा संसदीय समितिमा परेका उजुरीमा बुधबार छलफल हुँदा सेना प्रतिनिधिहरुले सार्वजनिक खरिद ऐन २०६३ अनुसार नै कम्पनीहरु सर्टलिष्ट गरिएको र पारदर्शी हिसाबले छनोट गरिएको बताउनुभएको थियो । सेनाले दिएको जानकारी अनुसार त्यतिबेला टेण्डर भर्ने कम्पनीका माउ कम्पनी र सहायक कम्पनीहरु दुवैले टेण्डर भरेकोले धेरै कम्पनीको टेण्डर अस्वीकृत भएको थियो ।


















