Prakash Adhikari February 28, 2021

 

दमक(झापा), १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द  विप्लव समूहका उच्च नेताहरुसग छिट्टै वार्ता हुने बताउनुभएको छ।

आफू निर्वाचित क्षेत्रमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सरकारले छिट्टै उक्त समूहसँग वार्ता गर्ने बताउनुभएको हो।

‘तपाईँ त्यो खबर छिट्टै घर बसीबसी सञ्चारमाध्यममा देख्नुहुनेछ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गरिने उहाँको भनाइ थियो।

नेपालको सत्ता नेपाल अनुकूल हुनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो।

नेकपाका अर्का समूहका अध्यक्ष पुष्पकमल दाहालको केही समय अगाडिको एउटा सञ्चारमाध्यमको अन्तर्वार्तालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँहरूका नेतृत्वमा सरकारले बने अरूलाई कम्फर्टेबल होला। तर नेपालका लागि टनटनाउने पिलोजस्तो हुनेछ।’

औद्योगिक पार्क शिलान्यास

करिब ६४ अर्ब रुपैयाँ वैदेशिक लगानीमा बन्ने भनिएको चाइना(नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार शिलान्यास गर्नुभएको छ।

दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा उक्त पार्क बनाइने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताउनुभयो।

पार्क निर्माण गर्ने भनिएको जमिन रतुवा खोलाले काटेको जमिनलाई खेतीयोग्य बनाई केही स्थानीयवासीले भोगचलन गर्दै आएका छन्।

पार्क निर्माण गर्नका लागि करिब २१ सय बिघा चाहिने बस्नेतले बताउनुभयो।

सन् २०१७ मा चीनबाट एउटा टोली आएर उक्त जग्गाको पहिलो पटक अवलोकन गरेको थियो।

केपी शर्मा ओली

केपी शर्मा ओली

पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलप्मेन्ट जोन जिङ-पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई जिम्मा लगाइएको छ।

औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले दाबी गर्नुभयो।

उहाँका अनुसार चीनमा भएका सवारीसाधन, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीहरू नेपाल आउनेछन्।

एक किलोमिटर चौडाइ र लम्बाइ नौ किलोमिटर भएको क्षेत्रमा पार्क बन्ने बस्नेतले बताउनुभयो। उक्त पार्कको निर्माण अविध पाँच वर्ष रहेको छ।

शिलान्यास र उद्घाटनमा व्यस्त

प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्नुभएको छ।

मदन भण्डारी मार्ग धरान पूर्व सेक्टरअन्तर्गत पर्ने २५ वटा बढी पुलको एकै पटक उहाँले शिलान्यास गर्नुभयो।

दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १ बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन पनि प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।(स्रोतःबीबीसी)

 

Share Now

Leave a comment.