पोखरा(कास्की),१७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीभित्र देखापरेको यथास्थितिलाई निकास दिन आफू तयार रहेको संकेत दिएका छन् ।
सोमबार पोखरामा आयोजित कार्यक्रममा आफू निकट कार्यकर्तालाई सम्बोधन गर्दै आफूलाई विधि र पद्धतिबाट हटाउन आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘विधिवत भेटौं, संसदीय दलको बैठक बोलाइदिन्छु आउनुस् न । ’
विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीले बताउदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं । म प्रतीक्षा गर्न तयार छु ।’
प्रधानमन्त्री ओलीले सम्मानजनक बहिर्गमनको खोजी गर्दै भन्नुभयो, प्रधानमन्त्री पदमा आसिन व्यक्तिलाई प्रजातान्त्रिक व्यवस्थामा गलहत्याएर निकालिदैन , विधि र प्रक्रियाबाट हटाइन्छ । आफ्नै पार्टीले अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याएर हटाउने होइन । प्रधानमन्त्री हटाउने विधि पद्धति प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?’ के भारतमा पनि गलहत्याएर प्रधानमन्त्री खोज्छन् ?
कार्यकर्ताका सामु प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी गर्नुभयो । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग गरेको ओलीले गुनासो गर्नुभयो ।
‘त्यो बहुमत त मैले नै दिएको हो । एकताका लागि भनेर, महाधिवेशनबाट छानिएको हो र, चुनाव जितेर आएको कमिटी हो र रु पार्टी एकता र देश बनाउनका लागि दिएको हो’ उहाँले भन्नुभयो ।
ओलीले प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला आफूले हटाइदिन पनि सक्ने दावी गर्नुभयो । ‘नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ, मैले अस्तिको दिनमा संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई हटाइदिएँ, मैले बनाएको हो मैले हटाइदिएँ, मैले गर्ने हो ।’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड– माधव समूहको बहुमत दावी गरे पनि पुष्टि नभएको दावी गर्दै भन्नुभयो, ‘त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो पुष्टि भएको छैन । कार्की ब्याङ्केटमा भोज खान बोलाएर भोज खान आएकाहरुलाई म तिर यति मान्छे छन् भनेर हुन्छ ? अध्यक्षले बोलाएको बैठकमा, महासचिवले बोलाएको बैठकमा आउनुस् न ।’
अहिले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री ‘दिए खान्थेँ’ भन्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
आफूले संसद विघटनपछि देशले निर्वाचनको बटो लिए पनि सर्वोच्चको फैसलाले फेरि देश अप्ठरोमा परेको उल्लेख गर्दै भन्नुभयो ‘चुनावको गतिमा गइसकेको थियो, देश फेरि अन्योल अलमलमै फस्यो । ’
सर्वोच्चको फैसलालाई आफूले शीरोधार्य गर्ने बताउदै उहाँले भन्नुभयो तर कुनै परिणाम भने दिने छैन ।


















