चितवन, १९ फागुन । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस मुलुक हाँक्ने जिम्मेवारीबाट पछाडि नहट्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका पूर्व सांसद एकनाथ रानाभाटको १३ औं पुण्य तिथिको अवसरमा चितवनमा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।
श्रद्धाञ्जली सभा राजनीतिक कुरा गर्ने ठाउँ नभएको बताउदै सभापति देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले कोट्याउनु भएको भावि राजनीतिक परिदृश्य र सरकारको नेतृत्वको बारेमा बोल्नुभएको थियो । सभापति देउवाले भन्नुभयो, ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी । तपाईं विशाल हृदय राख्नुस् ।’
उहाँले प्रधानमन्त्रीको जिम्मेवारी आए छोडेर नभाग्ने बताउनुभयो ।
ुप्रधानमन्त्री पाऊँ भनेर कतै गएको छैन, तर परिस्थिति आए भाग्ने छैन । नेपाली कांग्रेस सक्षम सरकार दिन सक्छ। प्रधानमन्त्री कांग्रेसबाट हुँदा पार्टीलाई नोक्सान हुँदैन फाइदा नै होला ।’
सभापति देउवाभन्दा पहिले बोल्नुभएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले अहिले संगठन निर्माण गर्नु अत्यावश्यक भएको बताउदै पार्टी मजवूत बनाएपछि हुने आगामी निर्वाचनमा बहुमत ल्याएर आफ्नो बलबूतामा सरकार बनाउनु पर्ने अहिले आफ्नो औकात नभएको बेलामा सरकारमा गएर पार्टीलाई लथालिंग छोड्न नहुने विचार राख्नुभएको थियो ।
ऋद्धाञ्जली सभामा पार्टी महामन्त्री शशांक कोइरालाले भने कुनै राजनीतिक कुरा बोल्नुभएन ।
आजै भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले अब संसद पुनस्थापनाको राजनीतिक एजेण्डा मिलेको हुनोले नेकपाभित्रको प्रचण्ड–माधव समूहसँग मिलेर सरकार बनाउनुपर्ने धारणा राख्नुभएका थियो।
श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जित नारायण श्रेष्ठ लगायतका नेताहरुले दिवंगत नेता रानाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र पार्र्टीले अवसर दिएका बेला देश र जनताको सेवामा गर्नुभएको कामको बारेमा बोलेका थिए ।


















