काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
बामपन्थी नेता ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र एकीकृत भएपछि बनेको पार्टीलाई दिएको भन्दै आफनो पार्र्टीलाई नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता दिन मुद्दा हाल्नुभएको थियोे ।
२०७५ साल मंसिर निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।
कट्टेलले नेकपा नामको पार्टी २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता गर्नुभएको थियो ।
अब सत्तारुढ नेकपाका सांसदहरु स्वतन्त्र
सर्वोच्च अदालतले नेकपाको आधिकारिक मान्यता ऋषि कट्टेललाई दिएसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
सर्वोच्चको आइतबारको फैसलाले विभाजको डिलमा खडा भएको नेकपा अवैध हुनगई खारेज भएको छ र २०७५ जेठ ३ गते पूर्वको अवस्थामा दुवै पार्टी पुगेका छन् अर्थात नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ब्युतिएका छन् ।
सर्वोच्चको यो फैसलाले आज ४ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकलाई पनि प्रभावित पार्ने देखिन्छ ।
अब संसदमा सत्तारुढ दल कुन नाममा कता बस्छ ? यो रोचक हुनेछ ।
तर जे भएपनि विभाजनको अपजश लिन हिच्किचाएका नेकपाका दुई गुटका नेताहरुलाई पुरानै पार्टीमा फर्कन सर्वोच्चको फैसलाले बाध्य बनाएको छ ।
यो नयाँ अवसरले नेकपामा कस्तो शक्ति सन्तुलन कायम हुन्छ भन्न सकिने अवस्था छैन। तर राजनीतिक विश्लेषकहरुका अनुसार सर्वोच्चको फैसलाको लाभ प्रधानमन्त्री ओलीको समूहलाई भएको छ ।
फागुन ११ गते प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चको फैसला आउने वित्तिकै चितवनमा लड्डू खानुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई खिसिट्यूरी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो , जित्यौ रे के जितेको थाहा छैन ? के को लड्डू खाएको हो थाहा छैन ?
उहाँले सो उक्ति हिजो मेलम्चीको पानी काठमाडौंमा खसाल्ने कार्यक्रममा समेत दोहोर्याउनु भएको थियो ।
सर्वोच्चको फैसला जे आएपनि अहिलेसम्म नेपालको राजनीति भारतीय गुप्तचर निकायका प्रमुख सामन्त गोयलको रोडम्याप अनुसार चलिरहेको देखिन्छ । अब के हुन्छ ? हेर्न बाँकी छ । नेकपा एमाले र नेकपा माओवादीका नेताहरुमा प्रतिनिधिसभा विघटनपछि बढेको आपसी कटुताले दुवै पार्टीका नेताहरु एकै ठाँउमा बस्न नसक्ने देखिएको छ । दुवै पार्टी फुट्ने अवस्था सिर्जना भएको छ ।
यसको लाभ नेपाली कांग्रेसलाई हुने स्पष्ट देखिन्छ ।


















