Prakash Adhikari March 29, 2021

 

काठमाडौं, १६ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, आफूसंगै महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

उहाँले एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै पार्टी विधानको धारा ४९(ख) बमोजित ६ महिनाका लागि निलम्बन गरेको बताउनुभएको छ।

अध्यक्ष ओलीले दुबै नेतालाई छुट्टाछुट्टै पत्र पठाएर भन्नुभएको छ , ‘आपराधिक कृयाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरेका गलत तथा अपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यापद कार्य गरेको देखियो ।’

प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले यो सच्चिने अन्तिम मौका भएको उल्लेख गर्दै आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा निलम्बनको अवधि घटाउने र बलमिच्याई गरेर विरोधका गतिविधि जारी राखेमा यसै अवधिमा थप कारबाही हुनसक्ने चेतावनी पनि दिनुभएको छ ।

अध्यक्ष ओलीले भन्नुभएको छ, ‘सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।’
सर्वाेच्च अदालतको फागुन २३ गतेको निर्णयले पुनर्जीवित भएको एमालेमा आपसी तिक्ततालाई विर्सेर एकताबद्ध हुने अवसर थियो । तर पुनर्जीवित एमालेको वैधानिक सचिवालय, केन्द्रीय समिति, स्थायी समितिको बैठक नबोलाईकन अध्यक्ष ओलीले आफूपक्षीय पक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित हुुने गरी फागुन २६ गते बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका पदाधिकार खारेज गर्ने, पार्टी विधान संशोधन गर्ने र केन्द्रीय सदस्य थप्ने निर्णय गर्नुभएको थियो ।

पार्टीमा तिक्तता बढ्दै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कामसंग सन्तुष्ट नरहेका माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरुले चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुभएको थियो ।

सो भेला आयोजना भएपछि अध्यक्ष ओलीले राख्नुएको७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोमा स्पष्टीकरण सोध्ने निर्णय गरे अनुरुप नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई महासचिव ईश्वर पोखरेलले चैत्र ८ गते स्पष्टीकरण सोध्नुभएको थियो ।

पार्टीका पूर्वमहासचिव तथा नेपाल सरकारका पूर्वप्रधानमन्त्री रहनुभएका नेता नेपाल र पार्टी उपाध्यक्ष रावले चैत १२ गते त्यसको जवाफ दिदैं आफूहरुले पार्टी अध्यक्ष ओलीले फागुन २६ गते एकपक्षीय केन्द्रीय सदस्यहरु भेला पारेर विधान विपरित केन्दीय समितिका पदाधिकारीहरु निलम्बन गर्ने, पार्टी विधान संशोधन गर्ने र केन्द्रीय सदस्यहरु मनोनयन गर्ने कार्य गरेकोले पार्टीलाई विधान अनुरुप सञ्चालन गरी सबल र सुदृढ बनाउन कार्यकर्ताको राष्ट्रिय भेला आयोजना गरेको जवाफ दिनुभएको थियो । उहाँहरु दुवैले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई कारबाही किन नहुने नगर्ने भनेर प्रतिप्रश्न गर्नुभएको थियो ।

 

 

Share Now

Leave a comment.