Prakash Adhikari March 30, 2021

 

लण्डन(संयुक्त अधिराज्य), १७ चैत्र(बीबीसी) । ब्रिटेन,फ्रान्स, जर्मनी लगायतका संसारका २० भन्दा बढी देशका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूसँग जुध्ने तयारीका लागि एउटा अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गर्नुभएको छ।

संसारका विभिन्न समाचारपत्रहरूमा प्रकाशित लेखमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति माक्रोँ, जर्मनीकी चान्सलर एङ्गेला मेर्कलसहितका नेताहरूले कोभिडले दोस्रो विश्वयुद्धयता दुनियाँका सामु सबैभन्दा ठूलो चुनौती खडा गरिदिएको टिप्पणी गर्नुभएको छ।

विश्व नेताहरुका अनुसार यस्तै प्रकृतिको अर्को विश्वव्यापी महामारी होला कि नहोलाभन्दा पनि भविष्यमा कहिले होला भन्ने अवस्थामा छ।

वर्तमान महामारीले संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहँदैनन् भन्ने पाठ सिकाएको पनि उहाँहरूले उल्लेख गर्नुभएको छ।

आआफ्ना देशका केही चर्चित समाचारपत्रहरूमा प्रकाशित लेखमा २४ नेताहरूले देशहरूबीच आपसी सहयोगको सहज वातावरण तयार पार्न दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको जस्तै प्रकारको सन्धि आवश्यक भएको तर्क गर्नुभएको छ।

अब संसारका देशहरू ‘भविष्यमा हुने महामारीको सटिक अनुमान गर्न, रोकथाम गर्न, पत्ता लगाउन, समीक्षा गर्न र त्यसप्रति प्रभावकारी ढङ्गले उच्चस्तरको संयोजित प्रतिक्रिया जनाउन सक्ने’ अवस्थामा रहनुपर्ने उहाँहरुको भनाइ छ।

सन्धि
एउटा नयाँ सन्धिले सम्भावित महामारीका बारेमा जनतालाई सावधान गराउन अझ प्रभावकारी प्रणालीहरूको स्थापना गर्न सघाउने विश्वका दुई दर्जन नेताहरुले बताउनुभएको छ।

साथै त्यसबाट महामारीसँग सम्बन्धित तथ्याङ्कहरूको आदानप्रदान, खोपहरू तथा सुरक्षात्मक पोसाक र उपकरणहरूको वितरणजस्ता आवश्यकताहरूको सम्बोधनमा पनि सुधार हुनेछ।

नेताहरूको उक्त संयुक्त लेख हालै यूके र युरोपेली सङ्घबीच खोपहरूको विषयलाई लिएर उत्पन्न भएको असहमतिको केही समयपछि आएको छ।

ईयूले आफ्नो सीमाभित्र उत्पादित खोपहरूको निर्यातमा कडा नियन्त्रणहरू लागु गरेपछि त्यस्तो विवाद उत्पन्न भएको थियो।

Share Now

Leave a comment.