काठमाडौं, २० चैत्र । सिन्धुुपाल्चोकको हेलम्बु गाउँपालिकाको मेलम्ची खोलाको पानी २७ किलोमिटरको सुरुड. निर्माण गरेर काठमाडौं ल्याई राजधानीवासीको खानेपानी समस्यालाई समाधान गर्ने दूरदर्शी नेता नेपाली कांग्रेसका तात्कालीन सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अभिव्यक्तिसहित नेपाली काग्रेसले एक भिडियो क्लिप सार्वजनिक गरेको छ ।
मेलम्चीको पानी काठमाडौंवासीका घरका धाराधारामा पठाउने र आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको भृकुटी मण्डपमा उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक भैरहेको बेला कांग्रेसले बिहिबार साँझ सो भिडियो क्लिप सार्वजनिक गरेको हो ।
भिडियो क्लिप सार्वजनिक गर्दै नेपाली कांग्रेसको प्रचार तथा प्रसार विभागले नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउन गरेका उद्घोष र बनाएको परियोजना साकार भएको जनाउदै उहाँप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौ उपत्यकाबासीलाई बिशेष बधाई दिएको छ ।
कांग्रेसले मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्वपूर्ण योगदान पुर्याउनुको साथै देशको समृद्धिका लागि आधुनिक प्रविधिका अझ नवीन र बृहत् परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको जनाएको छ ।
नेपाली कांग्रेसको सरकारले शुरु गरेको परियोजना अनेक प्रतिकूलता चिर्दै सम्पन्न भएकोमा हर्ष र गौरवको अनुभूति भएको उल्लेख गर्दै यसमा समर्पित सक्षम इन्जिनियरहरु, आर्थिक र भौतिक सहयोग गर्ने नेपाल सरकार र विदेशी दातृ संस्थाहरु,राष्ट्रसेवक कर्मचारीहरु, अहोरात्र पसिना बगाएका मेहनती श्रमिकहरु र परियोजना सञ्चालनमा सहयोग गर्ने सिन्धुपाल्चोक जिल्ला मेलम्चीका स्थानीय नागरिकहरुप्रति कृतज्ञता जाहेर गरेको छ ।
नेपाली काग्रेसका प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको शव्द र स्वरमा आएको भिडियो क्लिपमा २०४८ सालको निर्वाचनका बेलामा नेपाली कांग्रेसका सभापति तथा तात्कालीन प्रधानमन्त्री सन्त नेता भट्टराईले काठमाडौंकोे क्षेत्र नं १को चुनाव प्रचारको सन्दर्भका राजधानीको पानी संकट समाधानको लागि मेलम्चीको पानी ल्याउने प्रसंगमा दिनुभएको अभिव्यक्ति पनि समेटिएको छ ।
सो निर्वाचनमा मेलाम्चीको पानी आएपछि काठमाडौंको सडक पखाल्न पानी पुग्ने अभिव्यक्ति दिनुभएका भट्टराईलाई नेकपा एमालेका ठेट्नाहरुले घरमा खानेपानी छैन सडक धुने फूर्ति,केको सन्त तन्त्रमन्त्र जनता ढाट्ने जुक्ति भनेर खिसिट्युरी गर्दै नेकपा एमालेका महासचिव मदनभण्डारीको पक्षमा मत मागेर उहाँलाई नै जिताएका थिए ।
दूरद्रष्टा नेता भट्टराईको परिकल्पना साकार हुँदा भने त्यही नेकपाको सरकारका प्रधानमन्त्री के.पी.शर्मा ओली, मदन भण्डारीका धर्मपत्नी एवम् वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको सरकार तथा नेकपाका सम्पूर्ण कार्यकर्ताहरु भने गौरव बोध गर्दैछन् ।
यस घट्नाले किसुनजीलाई २०४८ सालको निर्वाचनमा पराजित गरेर प्रतिगमनको बीउ रोपिएको र त्यो बिषवृक्ष अहिले झ्यागिन खोजेको महसुस भैरहेको संकेतहरु देखिदैछन् । नेपाली कांग्रेसका संस्थापक सन्तनेता भट्राईलाई राजनीतिक मैदानबाट हटाउन खोज्नेहरु अहिले २००७ सालको जनक्रान्तिदेखि २०६२।६३ को जनआन्दोलन र संविधानसभाले बनाएको संविधान पनि समाप्त पार्ने खेलमा सक्रिय भैरहेका छन् ।
मेलम्चीको सन्दर्भमा नेपाली कांग्रेसले सार्वजनिक गरेको भिडियोले नेपालको लोकतान्त्रिक इतिहासको संरक्षण,समबर्धन र विकासका पक्षमा प्रतिबद्ध भएर उभिन अहिलेको नेपाली कांग्रेसको नेतृत्व र सबै लोकतन्त्रवादीहरुलाई समेत प्रेरित गर्ने विश्वास गरिएको छ ।


















