काठमाडौं, २१ चैत्र । नेपाल कम्युनिष्ट पार्टि एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी दशव्यापी अभियान घोषणा गर्ने भएको छ ।
सो समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने बताएको छ ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको हो ।
समूहका प्रवक्ता योगेश भट्टराईले यही चैत्र ४ र ५ गते ललितपुरमा भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’लाई पनि अन्तिम रुप दिएर देशभर लैजाने निर्णय भएको बताउनुभयो।
कारबाहीको विरोध
स्थायी कमिटीका सदस्यहरुको शुक्रबार सम्पन्न बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । उनले चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि कारबाही गर्नुभएको थियो ।
नेपाल खनाल समूहले एमाले पुनर्जिवित गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ भने पार्टी एकता रक्षा गर्न र यसको पक्षमा जनमत निर्माण गर्न देशभरका कार्यकर्तालाई अपील गरेको छ ।
अभियानको तयारी
सर्वोच्चले २३ फागुनमा गरेको फैसलाअनुरूप अध्यक्ष ओलीले पार्टी सञ्चालन नगरी स्वेच्छाचारी ढंगले गतिविधि गरेको तथा जिम्मेवार नेताहरूमाथि कारबाही गरेको विषयलाई तलैसम्म स्पष्ट पार्ने गरी खनाल–नेपाल समूहले शनिबार अभियानको घोषणा गर्न लागेको छ।
दिउँसो तीन बजे कलंकीको पार्टी प्यालेसमा बस्ने बैठकबाट संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गर्ने तयारी गरिएको छ।
देशभरका चार हजारभन्दा बढी नेता–कार्यकर्ताको दुईदिने भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ ०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने निर्णय गरेको थियो ।
एमाले अध्यक्ष ओलीले चारै नेताहरुलाई पार्टी विरोधी गतिविधिमा सलग्न नहुन चेतावनी दिंदै त्यस्ता गतिविधिलाई निरन्तरता दिएमा निलम्बन अवधिमै थप कारबाही घोषणा गर्ने धम्की दिएपनि नेपाल र खनाल समूह तर्सिएको भने देखिदैन ।
पार्टीको महाधिवेशन घोषणा गरिसकिएकोले आफ्ना विचार र कार्यक्रम पार्टी कार्यकर्ताबीच लैजाने स्वतन्त्रता आफूहरुलाई भएको उनीहरुले बताएका छन् ।