Prakash Adhikari April 4, 2021

काठमाडौं, २२ चैत्र । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने औपचारिक निर्णय गरे पनि प्रतिनिधि सभामा चौथो स्थानमा रहेको जनता समाजवादी पार्टी(जसपा)ले नयाँ सरकार निर्माणकाप्रति आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन।

संसदमा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले भने सरकार बनाउन कांग्रेसलाई साथ दिने सङ्केत सार्वजनिक रूपमै दिँदै आएको छ। उक्त दलका अध्यक्ष प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने पनि बताउनुभएको छ।

तर त्यसको निम्ति नेकपा एमाले एकताबद्ध रहँदासम्म कांग्रेस र माओवादी केन्द्रलाई जसपाको साथ र समर्थन अनिवार्य देखिन्छ। अर्थात् भावि सरकार निर्माणमा जसपाको भूमिका निर्णायक बन्ने अवस्था छ।

नयाँ सरकार गठनलाई लिएर दुईथरी धार रहेको भनिएको उक्त दल अब त्यसबारे खुल्नुपर्ने अवस्था आउने देखिन्छ।

जसपाका एक अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको बिदाइ आफूहरूको पहिलो लक्ष्य भएको बताउनुभएको छ।

कांग्रेसले अविश्वास प्रस्ताव ल्याएमा समर्थन गर्ने बताउँदै यादवले भन्नुभएको छ, ‘कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने हामीले त्यसको स्वागत गर्छौँ।’

जसपाका विभिन्न मागहरूबारे सरकारसँग उसको श्रृङ्खलाबद्ध छलफल जारी छ।

यादवले त्यो सरकार बनाउने वार्ता नभएको उल्लेख गर्दै जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरू रिहा र मुद्दा खारेज हुनुपर्ने विषयसंग संबन्धित रहेको बताउनुभएको छ।

जसपा नेताहरू

जसपा नेताहरू
ती माग पूरा गरे पनि ओलीको सरकारलाई समर्थन नगर्ने दृढता व्यक्त गर्दै यादवले भन्नुभयो, ‘तर त्यसको सट्टा केपी ओलीसँग राजनीतिक रूपले सती जाने कुरा आउँदैन।’

अर्का नेता राजेन्द्र महतोले भने पार्टीले उठाउँदै आएका मागहरू पूरा गराउने कुरालाई आफूहरूले प्राथमिकतामा राखेको बताउनुभएको छ।

‘हाम्रा मुद्दा र मागको सम्बोधन गराउने प्रयासमा तीनवटै दलसँग कुरा गरिरहेका छौँ, हामी सत्ता समीकरणको खेलमा छैनौँ।’ महतोले भन्नुभयो, ‘कुनै सरकारलाई समर्थन गर्ने विषयमा पार्टी निर्णयअनुसार हुनेछ ।’

ओली-महतो ‘गाढा’ सम्बन्धको परीक्षण सुरु

तर कांग्रेसले निर्णय गरिसकेको सन्दर्भमा पार्टी बैठक आयोजनाबारे जिज्ञासा राख्दा महतोले जबाफ दिनुभयो, ‘सत्ता समीकरण हाम्रो प्रमुख एजेन्डा होइन, हामीलाई के हतार भयो र ?’

देउवा
जसपाकै अर्का नेता बाबुराम भट्टराईले पहिलेदेखि ‘जतिसक्दो छिटो ओली सरकारलाई बिदा गर्नुपर्ने ‘ मत सार्वजनिक रूपमा प्रकट गर्दै आउनुभएको छ।

जसपामा सम्मतिको आशा

डा.भट्टराईले कांग्रेसको पछिल्लो निर्णयको प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौ, आजको दिनमा मुख्य प्राथमिकता ओलीको बिदाइ नै हो है !’

तीनवटा विपक्षी दल एकमत रहेमा नयाँ सरकारको निम्ति बहुमत पुग्छ।

कतिपयले जसपामा विभाजन आउन सक्ने वा प्रधानमन्त्रीसँग नजिक हुँदै गएका भनिएका महन्थ ठाकुर र महतो पक्ष बलियो हुँदा पार्टीमा भट्टराई र यादव पक्षको जोड नचल्ने अडकल गरेको पनि पाइन्छ।

पार्टीमा एकमत नहुने सम्भावनाबारे अध्यक्ष उपेन्द्र यादवले भन्नुभएको छ, ‘अहिलेसम्म त कुनै असहमति वा केपी ओलीसँग सती जाने कोही देखिएको छैन।’

जसपामा विभाजन देखिएमा भने प्रधानमन्त्री ओलीकै दल नेकपा एमालेभित्रको विवादले कुन रूप लिन्छ भन्ने कुराले सत्ता समीकरणलाई प्रभावित गर्ने ठानिएको छ।

गत बैशाख महिनामा संवैधानिक परिषद् र राजनीतिक दल दर्ता सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीको प्रत्यक्ष निर्देशनमा पूर्व आईजीपी सर्वेन्द्रनाथ खनाल, नेकपा एमालेका सांसदद्धय किसान श्रेष्ठ र महेश बस्नेतको प्रत्यक्ष संलग्नतामा तात्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएर एमाले प्रवेश गराउने तयारी भएपछि रातारात राष्ट्रिय जनता पार्टी र समाजवादी फोरमको एकता भएको थियो ।

आफ्नो दल फुटाएर सिध्याउन खोज्ने वर्तमान प्रधानमन्त्री ओलीलाई समर्थन गर्न र आफ्ना माग पूरा गर्न वार्ता गर्ने जनता समाजवादी पार्टीका नेताहरुको काम कारबाही रहस्यमय मानिदै गएको छ ।

जनता समाजवादी पार्टीका नेताहरुले उठाउदै आएका विषयको संवोधन गर्न नेपाली कांग्रेसले ल्याएको संविधान संशोधनको विषयलाई तात्कालीन एमालेले विरोध गरेकोले संविधान हुन नपाएको कटु यथार्थलाई पनि जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो प्रवृत्तिले किन बिर्सनुभएको हो त्यो झन रहस्यमय छ ।

(स्रोत : बीबीसी नेपाली न्युज)

 

Share Now

Leave a comment.