Prakash Adhikari April 6, 2021

काठमाडौंं, २४ चैत्र । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट सांसद भएका तर मन्त्री बन्न पार्टी त्याग गरेका चार मन्त्रीहरु सांसद पद गुमाउने अवस्थामा पुग्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले हाल मन्त्री रहेका र आफ्नो पार्टीबाट विजयी भएका सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा मंगलबार दर्ता गराएको छ ।

नेपालको संविधानको धारा ८९ को(ड.)मा जुन दलको उम्मेद्वार भई सदस्य निर्वाचित भएको हो त्यस दलले संघीय कानून बमोजिम दल त्याग गरेको कुरा सूचित गरेमा संघीय ंसंसदको सदस्यको पद रिक्त हुने व्यवस्था छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा दल त्याग गरेवा वा दलले कारबाही गरी निष्कासन गरेको सूचना संसद सचिवालयमा दिएपछि सो सूचना सदनलाई जानकारी दिएपछि दल त्याग गर्ने वा निष्कासनमा पर्ने सांसदहरुको पद रिक्त हुने व्यवस्था रहेको छ । यसैले माओवादीले कारबाही गरेका चार सांसदहरु जो अहिले मन्त्रीको हैसियतमा झण्डा हल्लाउदै प्रधानमन्त्री ओलीको काखमा पुग्नुभएको छ, उहाँहरुको सांसद पद रिक्न हुने अवस्थामा छ ।

नेकपा माओवादीका चारै सांसदलाई प्रधानमन्त्री केपी ओली शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिमण्डलमा मन्त्री नियुक्त गर्नुभएको थियो ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनर्जीवित गरेपछि नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले आफूपक्षीय केन्द्रीय समितिका सदस्यहरुलाई बोलाएर बालुवाटारमा गर्नुभएको बैठकले उहाँहरु चारै जनासहित २३ जना माओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो ।

चैत्र ७ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिदिएपछि उहाँहरुको मानको खातिर मानको केन्द्रीय सदस्य पनि चट् पोइलिएको पार्टीे एमालेमा पनि चट् भएको थियो ।

सर्वोच्च अदालतबाट पुनर्जीवित भएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीसंग मतान्तर भएकोले सो सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरि फिर्ता हुन आह्वान गरेको थियो । तर गृहमन्त्री रामबहादुर थापासहित हाल निलम्बनमा पर्नुभएका सबैले राजिनामा दिन चाहनुभएन र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ दिनुभएको थिएन ।

जनयुद्धमा पनि केन्द्रीय भूमिकामा रहेका माओवादी नेता तथा वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै पनि बादल फर्कने आशामा हुनुभएको बताइन्छ ।

Share Now

Leave a comment.