Prakash Adhikari April 6, 2021

झापा, २४ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने बताउनुभएको छ ।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले झापाको शान्तिनगरमा आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुुभएको हो ।

कांग्रेस सभापति देउवाले नेपाली काँग्रेस एक भए संसारको कुनै पनि तागतले हराउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘एकता नै पार्टीको जग हो । हामी एक भयौँ भने संसारको कुनै तागतले हराउन सक्दैन ।’

प्रजातन्त्र रक्षाका लागि राजतन्त्र समेत हटाउनु परेको बताउँदै सभापति देउवाले भन्नुभयो, ‘नेपाली काँग्रेस एकमात्र प्रजातन्त्रवादी पार्टी हो, नेपाली काँग्रेसले प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता गर्न सक्दैन, चाहे माओवादी होस् चाहे एमाले ।’

सरकार निर्माणका लागि संख्या आवश्यक पर्ने भन्दै त्यो संख्या निश्चित भए नेपाली काँग्रेसले सरकारको अगुवाइ गर्ने सभापति देउवाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सङ्कटोन्मुख नेपालको राजनीति र जनताको अधिकारलाई बचाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै काँग्रेसका नेता केशवकुमार बुढाथोकीले आगामी निर्वाचन नेपाली कांग्रेसको नेतृत्वले गराउनु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि बोल्नुभएको थियो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहनुभएका आचार्यलाई घरमा सुतिरहेको अवस्थामा ०५८ साउन ७ गते रातको समयमा गोली हानी हत्या गरिएको थियो ।

नेपाली काँग्रेसले आचार्यलाई शहिद घोषणा गरी शहिद यामबहादुर आचार्य प्रतिष्ठान स्थापना गरेको छ । सोही प्रतिष्ठानले शान्तिनगर–७ आचार्यको शालिक निर्माण गरेको हो ।

Share Now

Leave a comment.