विण्डहोक(नामिविया)। विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत नामिवियामा आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(यूएई)लाई ४ विकेटले पराजित गरेको छ ।
नेपाल र संयुक्त अरब ईमिरेट्सबीच भैरहेको विश्व क्रिकेट लिग डिभिजन २ को खेलमा युएईले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको थियो।
नेपालले सो लक्ष्य २८ दशमलव ५ ओभरमा ६ विकेटको क्षतिमा ११५ रन बनाएर पूरा गरेको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै ५१ रनको अर्धशतकीय योगदान दिए ।
अलराउण्ड प्रदर्शन गरेका कप्तान खड्का खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
त्यस्तै आरिफ शेखले पनि १६ रनको योगदान दिए ।
यो जितसँगै नेपालले यसै बर्ष जिम्बाब्वेमा हुने विश्वकप छनौट खेल्ने आफ्नो सम्भावना कायमै राखेको छ ।
प्रतियोगिता अन्तरगत नेपालले आफ्नो चौथो खेल भोली सोमबार केन्यासँग खेल्नेछ ।
टस हारेर पहिले ब्याटिंग गरेको युएईले ३१ ओभरमा मात्र १ सय १४ रन बनाउदा सबै विकेट गुमायो ।
युएईका लागि शईमान अनवरले सर्बाधिक ३० रन (४० बल, २ चौका) प्रहार गर्दा अदनान मुफ्तीले पनि १८ रन बनाए ।
विकेट किपर ब्याट्सम्यान घुलाम शब्बरले १६, मोहम्मद बुताले १५, मोहम्मद नावीदले १० रन बनाए ।
युएईलाई सुरुवाती झट्का दिनको लागि सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिंग गरे। ४ विकेट हात पारेका सोमपाल कामीले ७ ओभरमा ३० रन खर्चिदै सुरुका दुई विकेट झारे भने करण केसीले पनि कप्तान रोहन मुस्ताफालाई आउट गरेका थिए ।
सन्दिप लामिछानेले ३ विकेट लिने क्रममा ७ ओभरमा ३० रन खर्चिदा पारस खड्काले २ विकेट लिन २० रन खर्चे।
प्रतियोगितामा नेपालले यस अघि खेलेको २ मध्ये १ खेलमा नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानसंग ६ विकेटले पराजित हुनपुग्योे ।
र्षाको कारण युनाइटेड क्रिकेट क्लब मैदान, विण्डहोक निर्धारित समय भन्दा ३ घण्टा सुरु भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिंग गर्न निम्त्याएको थियो।