Prakash Adhikari May 2, 2021

बुटबल(रुपन्देही), १९ बैशाख । लुम्बिनी प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । कुर्सीका लागि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुलाई मन्त्री बनाएर पनि सत्ता नटिक्ने भएपछि राजिनामा दिएर एकल बहुमतको सरकार बनाउन अग्रसर हुनुभएका मुख्यमन्त्री पोखरेल आफ्नै संसदीय दलकी सांसद विमला वलीले अप्रत्यासित रुपमा नेकपा माओवादी केन्द्र प्रवेश गरेपछि भुइँमा थच्चारिन पुग्नुभएको छ।

दाङमा नेकपाबाट उपनिर्वाचनमा निर्वाचित भएकी वली आइतबार माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्नुभएको हो।

वलीको प्रवेशसँगै एमालेले लुम्बिनी प्रदेशमा बहुमत गुमाएको छ। बहुमत रहेको आधारमा पुनः मुख्यमन्त्री बन्ने दाउमा रहनुभएका शंकर पोखरेलले अब प्रदेश प्रमुख समक्ष बहुमतको दावी गर्न नपाउने हुनुभएको छ ।

वली माओवादीमा प्रवेश गरेपछि अब एमाले सांसदको संख्या ४० मा झरेको छ भने विपक्षी गठबन्धनमा पनि ४० नै पुगेको छ।

सो प्रदेशमा नेकपा एमालेका ४१ कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका २ (माओवादीका २ जना सांंसद र जसपाका ४ जना सांसद कारबाहीमा परेका छन् ), राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका थिए। वली माओवादी प्रवेश गरेपछि थपिँदा ४० पुगेका छन्।

माओवादीका सांसद पूर्णबहादुर घर्ती सभामुख रहेको हुँदा संसदमा मत बराबर भएको अवस्थामा निर्णायक मतदान पाउनुहुन्छ ।

यसैले लुम्बिनीमा अप्रत्यासित राजिनामा दिएर बहुमत देखाएर पुन मुख्यमन्त्रीको नियुक्ति लिने एमालेका सांसद शंकर पोखरेलको सपना चकनाचूर हुन पुगेको छ ।

माओवादीका सांसद कृष्णध्व खड्काले लुम्बिनी प्रदेशमा एमालेले बहुमत गुमाएको र तत्कालीन नेकपाबाट निर्वाचित सांसद विमला वलीले एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेपछि एमाले र विपक्षी गठबन्धनको मत ४०–४० मत पुगेकोले प्रदेश प्रमुखले शंकर पोखरेललाई पुनः मुख्यमन्त्रीको नियुक्ति र शपथ गराउन नमिल्ने बताउनुभएको छ ।

आइतबार नै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएर संसदीय दलको बैठक राखी आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गराएको केही समयपछि एमालेकै सांसदको माओवादीमा प्रवेश भएको हो।

मुख्यमन्त्री पोखरेलले आइतबार विहान मन्त्रीपरिषद्को बैठक राखेर प्रदेश सभा अधिवेशन अन्त्य गराउनुभएको थियो।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस, माओवादी र जसपाले बैशाख ६ गते संयुक्तरुपमा अविश्वास प्रस्ताव दर्ता गरी त्यसमा छलफल गरी मतदान गराउन विशेष अधिवेशनको समेत माग गरेको थिए ।

 

 

Share Now

Leave a comment.