कोलकोत्ता,पश्चिमबंगाल(भारत), २० बैशाख(बीबीसी) । कोरोनाभाइरस सङ्क्रमण र मृत्युका घटना हालसम्मकै उच्च देखिएको बेला भारतमा सम्पन्न एउटा महत्त्वपूर्ण चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी पराजित भएको छ।
भारतीय जनता पार्टी (भाजपा)ले पश्चिम बङ्गाललाई आफ्नो चुनावी अभियानको मुख्य केन्द्र बनाएको थियो।
पश्चिम बङ्गालको २ सय ९२ सिटमध्ये २ सय ८ तृणमूल कांग्रेसले जितेको बीबीसी हिन्दीले जनाएको छ।
मोदीको दल आसाममा विजयी भए पनि अन्यत्र उल्लेख्य उपलब्धि हासिल गर्न विफल भएको छ।
कोभिड सङ्कटको व्यवस्थापनलाई लिएर मतदाताले मोदीलाई दण्ड दिन्छन् कि दिँदैनन् भनेर चुनावलाई नजिकबाट हेरिएको थियो।
भारतमा लगातार १० दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका दैनिक घटना ३ लाख भन्दा बढी छन्।
त्यहाँ आइतबार ३ हजार ६ हजार ८९ जनाको मृत्यु भएको थियो जुन एक दिनको सर्वाधिक उच्च मानवीय क्षति हो।
अस्पतालहरूले शय्या र अक्सिजनको चरम अभावको सामना गरिरहेका छन् र धेरै भारतीयहरूले सामाजिक सञ्जालमार्फत सहयोगको खोजी गरिरहेका छन्।

ममता बनर्जी मोदीकी कटु आलोचक हुनुहुन्छ
भारतमा चुनावी र्याली र मतदानलाई सङ्क्रमणका घटना वृद्धि हुनुको कारण मानिएको थियो।
प्रधानमन्त्री मोदी र उहाँका गृहमन्त्रीले पश्चिम बङ्गालमा दर्जनौँ सभाहरूमा सम्बोधन गर्नुभएको थियो दुवै नेताहरूलाई महामारी भन्दा निर्वाचनमा केन्द्रित भएको आरोप लागिरहेको छ।
पश्चिम बङ्गालको परिणामको अर्थ
उक्त नतिजाले प्रधानमन्त्री मोदीकी कटु आलोचक भारतको एक मात्रै महिला मुख्यमन्त्री ममता बनर्जीलाई तेस्रो पटक पश्चिम बङ्गालको नेताका रूपमा स्थापित गराएको छ।
जितले भारतलाई जोगाएको भन्दै बनर्जीले कोभिड १९ को नियन्त्रण पहिलो प्राथमिकता हुने बताउनुभएको छ।
नन्दीग्रामको सिटमा भाजपा प्रवेश गरेका आफ्ना एक जना पूर्व सहयोगीसँगको बनर्जीको पराजयले चुनावी परिणामलाई खल्लो बनाएको थियो।
तर उहाँले उक्त नतिजालाई अदालतमा चुनौती दिने बताउनुभएको छ तर मुख्यमन्त्री बन्नका लागि उहाँले फेरी चुनाव भने लड्नुपर्ने अवस्था आउन सक्छ।
झन्डै ९ करोड जनसङ्ख्या रहेको र कोलकाता सहर अवस्थित रहेको पश्चिम बङ्गाल चुनावी पर्यवेक्षकहरूका लागि आकर्षण मान्ने गरिएको छ।

पश्चिम बङ्गालमा भाजपाले कहिले पनि सत्ता सम्हालेको छैन्
भारतको हिन्दू राष्ट्रवादी भाजपाले कहिल्यै पनि सत्ता नसम्हालेको थोरै राज्यमा पश्चिम बङ्गाल पनि पर्छ।
पराजित भए पनि भाजपाले झन्डै ८० सिट जितेर प्रमुख प्रतिपक्षी दलका रूपमा आफूलाई उभ्याएको छ।
सन् २०१६ मा उक्त दलले सो राज्यमा जम्मा ३ सिट जितेको थियो।
बनर्जीलाई बधाई दिँदै प्रधानमन्त्री मोदीले अघिल्लो पटक सामान्य उपस्थिति भए पनि अहिले पश्चिम बङ्गालमा भाजपाको उपस्थिति उल्लेख्य रूपमा बढेको बताउनुभएको छ।
पश्चिम बङ्गाल र आसाम बाहेक दक्षिण भारतका तमिलनाडु र केरेला राज्य, दक्षिण भारतको केन्द्र शासित पुडुचेरीमा चुनाव भएको थियो।
उत्तर प्रदेश अनि तेलङ्गनाका केही भागमा स्थानीय परिषद्को निर्वाचन भएको थियो।
तमिलनाडुमा प्रमुख क्षेत्रीय विपक्षी दल डीएमके सत्तामा आएको छ भने केरेलामा वामपन्थी गठबन्धनले सत्तामा आफ्नो नियन्त्रण कायम राखेको छ। केरेलामा भाजपा नेतृत्वको गठबन्धनले कुनै सिट जितेन।
कोरोनाभाइरसको महामारी बाहेक कतिपय विज्ञहरूले उल्लेख्य मुस्लिम जनसङ्ख्या भएका राज्यहरूमा भाजपाको प्रचारबाजीको सीमिततालाई चुनावी परिणामले प्रकट गरेको धारणा राखेका छन्।
भारतमा कोभिड १९ अवस्था
भारतमा १ करोड ९५ लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका घटना पुष्टि भएका छन् जुन अमेरिकापछि दोस्रो उच्च हो। त्यहाँ दुई लाख १५ हजार भन्दा बढीको मृत्यु पुष्टि भएको छ तर वास्तविक मृतकको सङ्ख्या अझ उच्च हुने ठानिएको छ।
विज्ञहरूले न्यून परीक्षण दर र मुख्य गरी ग्रामीण क्षेत्रमा घरमै मृत्यु भएका मानिसहरूको सङ्ख्याका कारण तथ्याङ्कमा कम सङ्ख्या आएको हुनसक्ने भनिएको छ।
पछिल्लो दश दिनयता भारतबाट अस्पतालको शय्या र जीवन रक्षा सामाग्रीको माग गरिरहेका कोभिड १९ प्रभावित परिवारका सदस्यहरूका पीडादायी तस्बिर बाहिर आइरहेको छ।
सङ्क्रमणका कारण शवगृह र दाहसंस्कार गर्ने ठाउँहरू भरिएका विवरण आएका छन्।


















