Prakash Adhikari May 6, 2021

 

रवात(मोरक्को), २३ बैशाख । मालीकी २५ वर्षीयाहालिमा सिसेले एकै पटक नौ सन्तानलाई जन्म दिनुभएको छ।

पहिला चिकित्सकहरूले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए। स्तरीय स्वास्थ्य सेवाको निमित्त मोरोक्को पुर्याइनुभएकी सिसेले पहिलो भनिएको भन्दा पनि बढी नौ बच्चा जन्माउनुभयो।

उहाँको गर्भबाट अहिले पाँच छोरी र चार छोरा जन्मिएका छन्।

मालीको सरकारले उहाँको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने कारण मोरोक्को पठाएको थियो।

“म धेरै खुसी छु”, उहाँका पतिले बीबीसीलाई बताउनुभयो, “मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्।”

सन् २००८ मा अमेरिकामा आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम छ।

यसअघि दुई महिलाले नौवटा बच्चा जन्माएको इतिहास छ। तर सन् १९७१ मा अस्ट्रेलिया र सन् १९९९ मा मलेशियाकी महिलाहरुद्धारा जन्माइएको कुनै पनि बालबच्चा केही दिनभन्दा बढी बाँचेनन्।

विश्व कीर्तिमान राखेकी नाड्या सुलेमनका आठै बालबच्चा अहिले १२ वर्षका भएका छन् । ती कृत्रिम गर्भाधानबाट जन्मिएका थिए।

मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले माली र मोरोक्कोका स्वास्थ्यकर्मीलाई बधाई दिनुभएको छ।

बच्चा

मालीमा सिसेको गर्भमा सातवटा बच्चा छन् भन्ने अनुमान हुँदा पनि चर्चाको विषय बनेको थियो।

पश्चिम अफ्रिकी राष्ट्रका चिकित्सकहरूले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि सरकारले उनलाई मोरोक्को पुर्‍याएको थियो।

दुई साता मालीको राजधानी बामाकोस्थित अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको डा. सिवीले बताउनुभयो।

मोरोक्कोमा पाँच साता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेको बच्चाहरू जन्माइएको थियो।

बच्चा
मालीको स्वास्थ्य मन्त्रालयले जारी गरेको ती बच्चाको तस्बिर

उहाँको पति एड्जुदान्त कादेर आर्बी आफ्नो जेठी छोरीसँग अझै मालीमै हुनुहुन्छ र उहाँले आफू पत्नीसँग सम्पर्कमै रहेको एवं परिवारको भविष्यका बारेमा चिन्तित नभएको बताउनुभएको छ।

“भगवान्‌ले हामीलाई यी बालबच्चा दिए। उनैले ती सबैलाई के हुन्छ भनेर निर्णय गर्छन्। म त्यो विषयमा चिन्तित छैनौँ। जब उनले केही गर्छन्, उनलाई किन भन्ने थाहा हुन्छ”, उहाँले बीबीसीलाई बताउनुभयो।

उहाँले आफ्नो परिवारले प्राप्त गरेको सहयोगले उत्साहित भएको बताउनुभयो।

“सबैले मलाई फोन गरे, सबैले। मालीको सरकारले पनि खुसी भएको बताए। मैले धन्यवाद दिएँ… राष्ट्रपतिले पनि मलाई फोन गरे।”

सिसे र उहाँका बालबच्चा केही सातापछि माली फर्किने अपेक्षा गरिएको छ।

 

Share Now

Leave a comment.