काठमाडौं, ३१ बैशाख । क बर्गको उच्च स्थानमा रही आफ्ना ग्राहकहरुलाई अत्याधुनिक र विश्वस्तरीय बैंकिड. सेवा दिंदै आएका हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बिहिबार मर्जर सम्झौता सम्पन्न भएको छ।
ठमेलस्थित एलफ्ट होटलमा आयोजित समारोहमा सम्पन्न मर्जर संझौतामा इन्भेष्टमेन्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंककातर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गर्नुभएको हो।
आगामी दुई महिनाभित्र मर्जरको सबै प्रक्रिया टुंग्याएर नयाँ आर्थिक बर्षको सुरुआतसंगै एकीकृत कारोबार गर्ने लक्ष्य दुवैतर्फका सञ्चालक र व्यवस्थापकहरुको छ।
अब बन्ने एकीकृत बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक राखिने तय भएको छ ।
सबल र समक्ष बैंक बन्दै
हाल हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रहेको छ। दुवै बैंकबीच शेयर मिलान अनुपात एक बराबर एक राख्ने सहमति भएकोले अब बैंकको चुक्ता पुँजी २६अर्ब ९४ करोड पुग्ने भएको छ । यो हालसम्म नेपालका बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी चुक्ता पूँजी हो ।
त्यस्तै पूँजी कोषमा पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी कोष २८ अर्ब १२ करोड ५१ लाख ७२ हजार र हिमालयन बैंकको १७ अर्ब ९५ करोड ६६ लाख ७७ हजार रहेको छ। दुवै बैंकको पूँजी कोष मिलाउदा एकीकृत बैंकको पुँजी कोष ४६ अर्ब पुग्नेछ।
हाल इन्भेष्टमेण्ट बैंकमा १ खर्ब ६५ अर्ब बराबरको निक्षेप रहेको छ भने हिमालयन बैंकमा पनि १ खर्ब ३२ अर्बको निक्षेप रहेको छ । निक्षेपका हिसाबले यो बैंक झण्डै ३ खर्बको हुनेछ । यो पनि सबैभन्दा बढी निक्षेप हुन आउछ ।
त्यस्तै चैतसम्मको वित्तीय विवरणमा इन्भेष्टमेण्ट बैंकको कुल ऋण १ खर्ब ६० अर्ब छ। हिमालयन बैंकको १ खर्ब २७ अर्ब रुपैयाँ छ। २ खर्ब ८७ अर्बको कर्जा लगानी पनि नेपालको बैंकिड.मा सबैभन्दा बढी हो
दुवै बैंकको राजधानीलगायत देशका विभिन्न शहरहरुमा थुप्रै जग्गा जमिन र आफ्नो भवन छ। कस्ट अफ फण्ड साढे ५ प्रतिशतभन्दा कम हुने छ भने आधार दर सात प्रतिशत हाराहारी हुने छ। यसले गर्दा ब्यापार वृद्धि गर्न मर्जरपछि अझ सजिलो हुने छ।
त्यस्तै निक्षेपमा पनि यसको आकार ३ खर्ब ११ अर्बभन्दा बढी हुनेछ। कर्जा अहिलेको अवस्थामा २ खर्ब ८८ अर्ब हाराहारीमा हुनेछ। यस हिसाबमा नेपालको नै सबैभन्दा ठूलो बैंक बन्नेछ।
सहमति
एलफ्ट होटलमा भएको मर्जर संझौता हस्ताक्षर कार्यक्रममा अध्यक्ष र अत्यावश्यक पदाधिकारीबाहेक अधिकांश पदाधिकारी भर्चुअल माध्यमबाट सहभागी हुनभएको थियो।
मर्जरका लागि गरिएको सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए)मा दुवै बैंकको मूल्य झण्डै समान( हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा र हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ ) आएको बताइएको छ । यसैलाई आधार मानेर एक बराबर एकको अनुपातमा मर्जरमा जाने भन्ने सहमति भएको हो । अब बिस्तृत डीडीए गरेर त्यसका आधारमा पछि सेयर आदानप्रदान अनुपात निर्धारण गरिनेछ ।१० प्रतिशत तल(माथि हुँदा पनि एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएकोले यसमा दायाँबाया नहुने बताइएको छ ।
दुवै बैंकबीच मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोरिने सहमति भएको छ।
कर्मचारी नियमावलीका हकमा हिमालयन बैंकको नियमावलीलाई अवलम्बन गरिने छ। यसले इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्न जानेछ ।अहिले हिमालयनमा करिब १ जना जति कर्मचारी छन् भने इन्भेष्टमेन्टमा १ हजार ५ सय जना कर्मचारी छन्।
मर्जरपछि नयाँ बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने छन्। त्यसपछि सेयर संरचनामा ३ जना हिमालयन र ३ जना इन्भेष्टमेन्टबाट ल्याउने र एक जना स्वतन्त्र संचालक नियुक्त गरिने बताइएको छ ।
मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक राखिने भएको छ।
बैंकको व्यवस्थापकीय संरचनामा हिमालयन बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक राणा रहनुहुनेछ भने नायब प्रमुख कार्यकारीमा इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे रहनुहुनेछ।
हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत लगानी हाललाई यथावत रहने छ यसलाई उसले चाहेको समयमा (मर्जरको समयमा) पनि बिक्री गर्न पाउने भएको छ।
राष्ट्र बैंकको स्वीकृति लिएर मर्जरको सहमति भएको हो।
मर्जर सम्झौतासँगै दुवै संस्थाले यसको जानकारी राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्डलाई औपचारिक रूपमा दिएका छन्। अब एकीकृत कारोबार नहुन्जेल दुवै संस्थाको सेयर कारोबार रोक्का हुनेछ।
मर्जर सहमतिपछि दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतले यो एकदमै ठूलो निर्णय भएको र यसले वित्तीय क्षेत्रलाई निकै फाइदा पुर्याीउने बताउनुभएको छ।
मर्जर संझौतापछि हिमालयनका प्रमुख कार्यकारी अशोक राणाले यो मर्जर संझौता ‘माइलस्टोन’ भएको बताउनुभयो भने इन्भेष्टमेन्टका प्रमुख कार्यकारी ज्योति पाण्डेले वित्तीय स्थायित्वमा ठूलो योगदान गर्ने र यसबाट अरुलाई पनि प्रेरणा मिल्ने बताउनुभयो।