काठमाडौं, १ जेठ । पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्स ले जितेको छ।
शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि हात पार्यो।
त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफको २२ औं मिनेटमा क्यामरुनका खेलाडी मेसुके ओलुमेउले धनगढीका विरुद्ध एक गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो।
पहिलो एनएसएल लिग च्याम्पियन बनेको काठमाडौंले उपाधिसँगै नगद ३५ लाख जितेको छ।
दोस्रो हुने धनगढीले नगद १५ लाख जितेको छ ।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले नगद एक एक लाख पाएका छन्।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए।
२१ दिन र २४ खेलपछि फाइनल पुगेका धनगढी र काठमाडौं उपाधिका लागि भिडेका थिए। फाइनल अघि नै यी दुई टोलीले दुई पटक खेलिसकेका छन्।
दुवै खेलमा धनगढी विजयी भएको थियो। लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो।
यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि पार्दे काठमाडौंलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो।
काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
तर फाइनल अगाडिको खेलमा धनगढीका एक खेलाडी चोट लागेको कारण धनगढीको अवस्था फाइनलमा सोचेजस्तो हुन सकेन ।
गोलकिपर विकेश कुथुको कप्तानीमा खेलेको काठमाडौंले उपाधि हासिल गरेको छ।
उत्कृष्ट टिम र खेलाडीको उपाधि
नेपाल सुपर लिगको फेयर प्लेको उपाधि बुटवल लुम्बिनी फुटबल क्लबले पाएको छ।
लिगमा ५० हजार नगद पुरस्कार रहेको इमर्जिङ प्लेयर (उदियमान खेलाडी) को उपाधिका लागि विश्वास श्रेष्ठ चयन भएका छन् भने उत्कृष्ट कोचमा बालगोपाल महर्जन छानिएका छन्।
उत्कृष्ट गोलकिपरमा किरणकुमार लिम्बु, उत्कृष्ट डिफेन्डरमा दिनेश राजबंशी, उत्कृष्ट मिडफिल्डरमा मैसोके ओलुमोउले र उत्कृष्ट फरवार्ड अन्जान विष्ट छानिएका छन्।


















