प्रदीप बस्याल / बीबीसी न्यूज नेपाली
काठमाडौं, ४ जेठ । पूर्वीमध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउ-तेको प्रभाव नेपालको हिमालय क्षेत्रमा पनि पर्ने मौसमविद्हरूले बताएका छन्। त्यसबाट यो साता सगरमाथा आरोहण पनि प्रभावित हुने देखिएको पर्वतारोही र नेपाली अधिकारीहरूले बताएका छन्।
दुई सयभन्दा बढी आरोहीहरू बुधवार र बिहीवार सर्वोच्च शिखर पुग्ने लक्ष्यसहित आधारशिविरबाट उकालो लागेका थिए।
तर समुद्री आँधीका कारण मौसममा परिवर्तन हुने भएपछि उनीहरूले अर्को अनुकूल समयको प्रतीक्षा गर्नुपर्ने भएको छ।
“अब मौसम सुधार नहुँदासम्म उनीहरू क्याम्प वन र क्याम्प टूमै बस्नेछन्,” आधारशिविरमा रहेका नेपाल सरकारका एकजना सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बीबीसीलाई भन्नुभयो।
पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले मङ्गलवार औपचारिक रूपमा आरोहण दलहरूलाई ूसतर्क रहन र सम्भव भएसम्म उकालो नलाग्न र माथि रहेकालाई समेत सुरक्षित स्थलमा झार्नू आग्रह गर्न लागिएको बताउनुभएको छ।
‘यसअघि पनि आरोहण याम चलिरहँदा तुफानहरू आएका छन्। हामीले परिस्थिति र मौसमको निरन्तर जानकारी लिएर रणनीति बनाइएका छौँ ‘,आचार्यले भन्नुभयो, ‘पर्वतारोहीको सुरक्षा जे गर्दा सुनिश्चित हुन्छ हामी त्यसमै लाग्छौँ।’
सुरक्षाका प्रयास
एघार दिनअघि सगरमाथाको चुचुरोमा डोरी टाँग्दै यस यामको पहिलो आरोहण भएको थियो। त्यसपछि अहिलेसम्म झन्डै १ सय ५० जनाजतिले सगरमाथा आरोहण गरिसकेको नेपाली अधिकारीहरूको अनुमान छ।

सगरमाथाको बाटो
आरोहीहरूसँग उनीहरूको आरोहण पुष्टि गर्नेगरी अन्तर्वार्ता लिएर प्रमाणपत्र जारी भएपछि मात्र सङ्ख्या स्पष्ट हुने विभागका अधिकारीहरू बताउँछन्।
तर यो वर्षको वसन्त याममा अहिलेसम्मकै सर्वाधिक ४ सय ८ वटा आरोहण अनुमति जारी गरिएको थियो।
आधारशिविरमा भएका आरोही तथा आरोहण सञ्चालक मिङ्मा डेभिड शेर्पा भन्नुहुन्छ, “हामीले यही मौसमी विकासक्रमलाई हेरेरै मे २५ तिरलाई हाम्रो दलको चुचुरो पुग्ने योजना गराएका छौँ।”
माथि लागिसकेका आरोहीहरू यतिखेर क्याम्प वन र क्याम्प टूमै सुरक्षित रहने विश्लेषण गरेको बताइएको छ।
मिङ्मा डेभिड शेर्पा भन्नुहुन्छ “त्यहाँबाट आधारशिविर नै झर्न पनि तन्दुरुस्त अवस्थामा रहेका आरोहीका लागि तीनदेखि पाँच घण्टाको समय हो। र, यस्तोमा जोखिम लिनुभन्दा तल झरेर बस्दा राम्रो पनि हुन्छ। यो आउजाउ माथिल्लो उचाइसँगको एउटा अर्को अभ्यास हुन्छ। मलाई त झर्नु नै राम्रो लाग्छ।”
तर धेरै आरोहीहरू निकै अस्थिर बरफ र हिउँका चट्टानहरू हुने खुम्बु आइसफलमा धेरै आउजाउ गर्न चाहँदैनन्।

सगरमाथा
झन्डै ६ हजार ४ सय मिटर उचाइबाट १ हजार मिटरजति ओर्लेर पुन ः चुचुरोका लागि आफूलाई लैजाने कामलाई शरीरमा हुने ऊर्जाका दृष्टिले समेत कतिपय आरोहीका लागि चुनौतीपूर्ण मानिन्छ।
यसअघि मे २१ र २२ मा आरोहणका लागि अनुकूल मौसम देखिएका थियो। तर अहिलेको मौसमी परिवर्तनका कारण आधारशिविरमै रहेका आरोहीहरूले आफ्नो योजना परिमार्जन गर्न थालेको बताइएको छ।
सगरमाथा आरोहण गरिसकेका ज्ञानेन्द्र श्रेष्ठ भन्नुहुन्छ, “क्याम्प टूको उचाइ मात्र केही बढी हो। नत्र त्यसको अवस्थितिको हिसाबले आधारशिविरभन्दा धेरै फरक हुँदैन। त्योभन्दा माथि मौसमी फेरबदल भए त्यो आरोहीको काबुमा नहुन पनि सक्छ।”
‘पर्वतारोहण नगर्नू तथा नगराउनू’
जल तथा मौसम विज्ञान विभागले ताउ-ते तुफानको प्रभाव शुक्रवारसम्म देखिने आफ्नो विशेष बुलेटिनमार्फत् जनाएको छ।
“सो अवधिमा उच्च हिमाली भूभागमा उच्च वेगको हावाहुरीको समेत सम्भावना रहेकोले पर्वतारोहण नगर्न तथा नगराउन हुन अनुरोध छ,” विभागले भनेको छ।
विभागकी वरिष्ठ मौसमविद् प्रतिभा तुलाधर भन्नुहुन्छ, “त्यसै पनि प्री-मनसुनको समय रहेको यो बेला तुफान मिसिँदा हिमपात र हिम पहिरोको जोखिम भएकाले हामीले त्यस्तो सूचना जारी गरेका हौँ।”
तर यसको जोखिम नेपालमा तुलनात्मक रूपमा सगरमाथा रहेको प्रदेश नं १ मा पश्चिमी भेगको तुलनामा कम पर्ने बताइएको छ।
मौसमविद्हरूले अहिलेको समुद्री आँधीका कारण धवलागिरि हिमालमा भने दुई फिटसम्म हिउँ पर्ने र सगरमाथा तथा मकालु क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरेका छन्।


















