Prakash Adhikari May 20, 2021

 

काठमाडौं, ६ जेठ । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको घातक संक्रमणमा परेर १ सय ९० जनाको मृत्यु हुन गएको छ भने थप ८ हजार ३ सय ५ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२ हजार ८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा काठमाडौं  उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

‍अहिले काठमाडौं जिल्लामा २ हजार ६ सय जनामा तथा भक्तपुरमा २ सय २९ र ललितपुरमा ४ सय ३ जनामा कोभिड १९ पुष्टि भएको हो।

केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६ हजार ५ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि १लाख १५ हजार ८ सय जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ।

यसअघि बुधवार मन्त्रालयले ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २ सय ४६ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि गरेको थियो।

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७ हजार ८ सय १४ जना संस्थागत आइसोलेशनमा र १ लाख ८ हजार ३८ जना घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २४ हजार ३ सय ८९ जना, ललितपुरमा ६ हजार ८ सय ९५ जना र भक्तपुरमा ४ हजार ७ सय ८३ जनामा सक्रिय सङ्क्रमण छ।

गम्भीर समस्या भएका १ हजार ७ सय ४८ जनालाई आईसीयूमा र ४ सय ९२ जनालाई भेन्टिलेटरमा राखेर उपचार उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोभिड पुष्टि भएकोमा ५,८४७ जनाको मृत्यु भइसकेको र ३ लाख ६६ हजार ९ सय ४६ जना निको भएको तथ्याङ्क मन्त्रालयले प्रकाशित गरेको छ।

 

Share Now

Leave a comment.