Prakash Adhikari May 20, 2021

नयाँ दिल्ली, ६ जेठ (रासस/एएनआई) । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनीया गान्धीले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्नुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार पत्र लेख्दै भारतको प्रमुख प्रतिपक्षी दलकी अध्यक्ष गान्धीले कोरोनाका कारण बावुआमा दुवै गुमाएका वा कमाउने व्यक्ति गुमाएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्नुभएको हो ।

“कोरोनाभाइरसको महामारीले धेरैलाई नकारात्मक असर पारेको छ, तर आफ्ना बाबुआमा गुमाएका बालबालिकाहरु थप समस्यामा छन्, त्यसैले उनीहरुका लागि विषेश व्यवस्था गर्नुपर्दछ,” गान्धीले पत्रमा उल्लेख गर्नुभएको छ ।

कोरोनाका कारण अविभावक गुमाएकै कारणले कुनै पनि बालबालिका शिक्षा लिनबाट बञ्चित हुनु नहुनेमा उहाँले जोड दिनुभएको छ ।

उहाँले आफ्ना श्रीमान् राजिव गान्धीको सक्रियतामा स्थापना भएको नवोदय विद्यालयमा त्यस्ता बालबालिकाहरुलाई निःशुल्क पठन पाठनको व्यवस्था गरिने पनि बताउनुभयो ।

उहाँका अनुसार त्यस विद्यालयले उच्च गुणस्तरीय शिक्षा दिदै आएको छ भने देशभरी ६६१ शाखा विद्यालयहरू रहेका छन् । गरिब तथा जेहेन्दार र प्रतिभाशाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले यस विद्यालयको स्थापना गरिएको पनि अध्यक्ष गान्धीले पत्रमा चर्चा गर्नुभएको छ ।

“नवोदय विद्यालयका शाखा विद्यालयहरुमा बाबुआमा गुमाएका सवै बालबालिकाहरूलाई निःशुल्क अध्ययनको व्यवस्था हामीले मिलाउने भएका छौँ, त्यसका लागि समन्वय गरिदिनुहुन मैले यो पत्र लेखेको हुँ,” उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।

Share Now

Leave a comment.