काठमाडौं, ३० जेठ । गत बर्ष लक डाउनको बीचमा कारोबार खुलेपछि उकालो चढन थालेको नेपालको सेयर बजार परिसूचक र सेयर कारोबार रकमले आइतबार अर्को नयाँ रेकर्ड कायम गरेको छ ।
साताको पहिलो कारोबार दिनमा ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयरको किनबेचबाट १९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो नेपाली पुँजी बजारको अहिलेसम्मकै उच्च खरिदबिक्री रकम हो । यसअघि गत साता जेठ २३ गते अहिलेसम्मकै उच्च १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
यस्तै, नेप्से परिसूचकले दैनिक कारोबारमा आइतबार क्लोजिड. बिन्दु २९८३.११ कायम गरेको छ । क्लोजिड.मा नेप्सेले कायम गरेको यो अहिलेसम्मकै उच्चतम् बिन्दु हो । नेप्से परिसूचक गत साता ३ हजार ४ बिन्दु छोएर फर्केको थियो । सो दिन क्लोजिङ को समय नेप्से परिसूचक २९६०.१५ मा अडेको थियो ।
आइतबार बाणिज्य बैंंक, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी,उत्पादनमूलक र होटल तथा पर्यटन समूहमा बढोत्तरी देखिएको छ भने निर्जीबन र जीवन बीमा, म्युचुअल फण्ड,माइक्रो फाइनान्स, ब्यापार र अन्य समूहका कम्पनीको सेयर मूल्यमा ह्रास आएको छ ।
कारोबारका हिसाबले आइतबार अरुणभ्याली जलविद्युत कम्पनी, लुम्बिनी विकास बैंक, नेसनल हाइड्रोपावर, नेपाल पुनर्बीमान,ज्योति विकास बैंक, अरुण काबेली जलविद्युत,रसुवागढी जलविद्युत, युनाइटेड मोदी जलविद्युत, मुक्तिनाथ विकास बैंक, अपि जलविद्युत कम्पनी उच्च स्थानमा रहेका छन् ।
त्यस्तै प्रतिसेयर मूल्यबृद्धिका हिसाबले श्री इण्भेष्टमेण्ट फाइनान्स,कर्णाली विकास बैंक,सिन्धु विकास बैंक, आइसीएफसी,मितेरी विकास बैंक,रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, घलेम्दी जलविद्युत,नेशनल हाइड्रो र सीइबीडी हाइड्रो पावर कम्पनी परेका छन् । आइतबार ४४ कम्पनीको भाउ ९ प्रतिशत भन्दामाथि सर्किट लाग्ने तहसम्म वृद्धि हुन पुगेको थियो ।


















