काठमाडौं , ३० जेठ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
सरकारले यस अगाडि जेठ मसान्त अर्थात सोमबार राती १२ बजेसम्मका लागि उपत्यकामा जारी निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यस्तैबिहान ९ बजेसम्म खोल्ने अनुमति पाएका किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न दिइएको छ ।
खुकुलो गरिएको निषेधाज्ञामा विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।
ग्यारेजहरु बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने निर्णय भएको छ। एम्बुलेन्स, शव बाहनलगायतका स्वास्थ्य सेवामा खटिने साधनलाई निर्वाध संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ ।
अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने निर्णय भएको छ ।
यसैगरी बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ । सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ ।
अध्ययनका लागि विदेश जाने लगायतका विषयका कारण हिँडडुल गर्नुपर्ने मानिसका लागि पनि व्यवस्था केही खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रकाशित सूचना जस्तको तस्तै हेर्नुहोस् :























