Prakash Adhikari June 19, 2021

चैनपुर(बझाडं), ५ आषाढ । लगातार बर्षाको कारण पश्चिम सेती नदीले यहाँ खतराको सतह पार गरेको छ ।

सेती नदीको पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ ।

कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् ।

पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बीचमा लगाउन मेशिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ ।

तत्काल मनसुन कमजोर नहुने 

केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

“यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले रासससँग भन्नुभयो, “त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।” केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उहाँको भनाइ छ ।

मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।

आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ ।

महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।

Share Now

Leave a comment.