फणीन्द्र दाहाल /बीबीसी न्यूज नेपाली
काठमाडौं, ८ आषाढ । नेपालले निकट भविष्यमा नै धनी मुलुकहरुले विपन्न मुलुकहरुलाई कोरोना भाइरसको संक्रमणविरुद्ध उपलब्ध गराउने कोभ्याक्स कार्यक्रम अन्तरगत ९ लाख ४८ हजार मात्रा कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ ।
सरकारद्वारा गठित कोभिड १९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजकले कोभ्याक्स अभियानले नेपाललाई ३ लाख ४८ हजार अक्सफर्ड -आस्ट्राजेनेकाको खोप र ६ लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताउनुभएको छ।
खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले दुई मात्रा लिनुपर्ने अक्सफर्ड-आस्ट्राजेनेकाको खोप आगामी जुलाई महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको बताउनुभएको छ।
अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ।
यसबाहेक चीनबाट पनि खोप खरिद गर्ने प्रक्रिया अघि बढेकाले खोप अभियानको सञ्चालनमा देखिएको अवरोध चाँडै फुक्न सक्ने कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुखले बताउनुभएको छ।
कोभिड खोप ल्याउने विषयमा भएको प्रगति
खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले अक्सफर्ड -आस्ट्राजेनेका र जेनसेन खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताउनुभयो।
उहाँका अनुसार ३ लाख ४८ हजार मात्रा आस्ट्राजेनेकाको खोप जुलाई महिनाभित्र उपलब्ध गराइने भनेको केही समय भइसक्यो जस्तो लाग्छ। जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने भनेर हालै चिट्ठी आएको हो। त्यसमा कहिलेसम्म खोप उपलब्ध गराइन्छ भनेर मिति भने तोकिएको छैन।

कोभिड खोप
नेपालमा अहिलेसम्म ७ लाख ३१ हजार जनाजतिले मात्र दुई मात्रा खोप लगाएका छन्
उहाँले भन्नुभयो, “यो धनी राष्ट्रहरूले जम्मा गरेर राखेको भनिएको खोपमध्ये हो। र, कोभ्याक्समार्फत् हामीले पाउन लागेका हौँ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेतृत्वमा खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउन स्थापित गरिएको कोभ्याक्स कार्यक्रमको सन् २०२१ भित्र दुई अर्ब कोभिड १९ खोप वितरण गर्ने लक्ष्य पूरा हुन नसक्ने चेतावनीमाझ पछिल्ला विवरण आएको हो।
उक्त अभियानले हालसम्म १ सय ३१ देशमा ९ करोड खोप वितरण गरेको छ।
डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस एल्वर्डले कोभ्याक्समार्फत् खोप नपाएकाले कैयौँ देशका खोप कार्यक्रमहरू प्रभावित भइरहेको बताएका थिए।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोख्रेलले जुन महिनासम्म कोभ्याक्सले नेपाललाई उपलब्ध गराउन सकिने खोपको मात्राबारे निर्णय गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “न्यूनतम उहाँहरूको ३ लाख ४८ हजार मात्रा हो। हामीले हामीलाई चाहिने १४ लाख मात्रा नै दिनुपर्यो भनिरहेका छौँ। उहाँहरूले कति दिनुहुन्छ भनेर अबको लगभग एक हप्ताभित्र थाहा भइसक्छ र त्यो अर्को महिनासम्म हामीले पाइसक्छौँ।”
नेपालले अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनबाट ५० लाख मात्रा खोप खरिद गर्ने प्रयासमा छलफल अघि बढाएको भए पनि त्यो खोप आउन लागेको प्रक्रियाबारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो।


















