Prakash Adhikari June 27, 2021

खलंगा(दार्चुला),१३ आषाढ । भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक बनाइरहेको सडक र एक सातासम्मको अविरल वर्षाका कारण अहिले दार्चुलादेखि व्याँस गाउँपालिकाको छाङ्गरुसम्मको सम्पर्क टुटेको छ । व्याँस गाउँपालिका—२ कल्जुदेखि वडा नं १ को बुदीसम्म दर्जन बढी ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरुद्ध बनेपछि सम्पर्क टुटेको हो ।

यसे क्षेत्रमा अहिलेकै अवस्थामा बाटो खुलाउन सकिने अवस्था छैन । अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण पहिरो गएको छ भने केही ठाउँमा महाकालीमा नदीको बहाब बढेपछि बाटो अवरुद्ध भएको छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला—तिङ्कर सडक खण्डको व्याँस गाउँपालिका—२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका टिङ्करसम्मको ८७ किमी सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ । यही क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मतसम्भार गरिएको थियो ।

भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएको ढुङ्गाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ । वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागीबगर, कल्जुलगायतका ठाउँमा बढी अवरुद्ध भएको छ । सानातिना पहिरो र नेपालतिरको गोरेटो बाटोमा दर्जनौं बढी ठाउँमा अवरुद्ध भएको व्यास गाउँपालिका—१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ठाउँठाउँमा गोरेटो बाटोमा सयौं मिटर बढी भाग नदीले कटान गरेको छ । कतिपय ठाउँमा बाटोको नाम निसाना नै मेटिएको छ ।”

पञ्चायतकालमै नेपालतिर बाटो निर्माण गरिएको थियो । महाकाली नदी किनारैकिनार छाङ्गरुसम्म गोरेटो बाटो बनेको थियो । नदी किनारैकिनार बाटो निर्माण गरिएको कारण भारतीय सडकबाट नदीमा ढुङ्गा थुप्रिएपछि नेपालतिरको भूगोल बढी कटानमा परेको हो । अधिकांश ठाउँमा भारतीय सडकको कारणभन्दा पनि अहिले महाकाली नदी उर्लिएर आएकाले बढी क्षति भएको बोहरा बताउनुहुन्छ । “सबै ठाउँमा भारतीय सडकको कारणले नै बाटो भत्किएको हैन्”, उहाँले भन्नुभयो, “केही ठाउँमा भए पनि कयौं ठाउँ यो पटक कालीको मुहानबाटै महाकालीमा आएको ठूलो भेलले क्षति गराएको हो ।”

सेनाले गत वर्ष बनाएकै घोरेटो बाटो समेत महाकाली नदीको कटानले जोखिममा परेको छ । “नेपालतिर भएर व्याँसको छाङ्गरु टिङ्कर जान सकिने अवस्था अब रहेन”, अध्यक्ष बोहराले भन्नुभयो, “छाङ्गरुमा नेपाल—भारत जोड्ने सीता पुलसमेत महाकाली नदी कटानको जोखिममा छ ।” महाकाली नदीले सीता पुल नजिकै रहेको भारतीय एसएसबीको चेकपोष्ट भत्काएको छ । पुलको आधा भूभाग कटान गरेको छ । सीतापूल बगायो भने, व्यासका नागरिक व्यासमै ठप्प हुने अवस्था रहेको उहाँको भनाइ छ ।

“काठको पुल वर्षौदेखि जीर्ण नै थियो । मर्मतको लागि पटकपटक गाउँपालिकामा माग गर्दा सुनुवाइ भएन”, वडाध्यक्ष बोहराले भन्नुभयो, “अहिले महाकालीले भत्काउने अवस्थामा पुगेको छ । व्यासीहरुले भारतको बाटो भएर अहिले खलङ्गा आउनुपरेको छ । त्यही पुल पनि बगायो भने खलङ्गासँम्म व्यासीले पुग्ने सक्ने अवस्था छैन् ।” अहिले पनि भारतका विभिन्न ठाउँमा सडक अवरुद्ध छ । पैदल हिंड्डुल गरे पनि भारतीयसँगै अनुरोध गरेर सदरमुकाम खलङ्गा र व्याँसको छाङ्गरु तिङ्कर आउजाउ गर्नु परेको छ ।

भारतले घाटीबगरमा सडक चौडा बनाउने क्रममा पहाड भत्काउँदा व्यासको कल्जु क्षेत्रमा २५० मिटर बढी क्षेत्रमा क्षति पु¥याएको छ । यो क्षेत्रमा नदी किनार भएर बनाइएको पूरै घोरेटो बाटो भत्किएको छ, वडा नम्बर २ का अध्यक्ष धीरेन्द्र बुढाथोकीले बताउनुभयोे । यो ठाउँमा थोरै बजेटले बाटो खुलाउन सकिने अवस्था पनि छैन् । त्यो भन्दा माथिल्लो तम्बाकु भीरलगायतका क्षेत्रमा पूरै बाटो भत्किएको उहाँको भनाइ छ ।

भारतले व्यासको दुम्लीङभन्दा माथिल्लो क्षेत्रमा विगतमा सडक निर्माणको लागि नदीको प्राकृतिक धार परिवर्तन गराउँदै आएको थियो । कयौं पटक डोजर, स्काभेटर महाकाली नदीमार्फत नेपाल प्रवेश गराउँदै आफ्नो भूमिमा सडक निर्माण गरेको हो । विगतदेखि नै महाकाली नदीको बहाब अवरुद्ध पार्दा नेपालतिर सडक अवरुद्ध हुने गरेको थियो ।

माल्पाभन्दा तल्लो क्षेत्रमा सडक निर्माणको क्रममा महाकाली नदी थुनिएको थियो । त्यही क्षेत्रको नदी फुटेर पनि बढी पहिरो गएको दुम्लीङस्थित सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले केही दिनअघि मात्रै नेपालको बाटो भएर माल्पासम्मको बाटोको अवस्थाबारे निरीक्षण गरेको थियो । सो क्रममा अधिकांश क्षेत्रमा भारतीय सडक निर्माणको क्रममा सिधै ठूलाठूला चट्टानहरु नदीमा फालिएकाले नदीको बहाब नेपालतिर सोझिन गएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस क्षेत्रमा नेपाली सेनाले आगामी आर्थिक वर्षबाट सडक निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सडक निर्माणको लागि व्याँस गाउँपालिकाको दुम्लीङ र सुनसेरामा नेपाली सेनाको विकास दलका दुई वटा क्याम्प राखिएको जानकारी दिनुभयो । उहाँले सडकको डिपिआर निर्माण सकिने बित्तिकै निर्माण कार्य अघि बढ्ने जनाउनुभयो ।

विसं २०७७ वैशाख १४ को मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ८७ किमि सडकको ट्रयाक खोल्न सेनालाई जिम्मा दिएको थियो । कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा बैतडी हुँदै दार्चुला–खलङ्गा हुँदै टिङ्कर जोड्ने महाकाली राजमार्गको ४२५ किमि लम्बाई छ । यसमध्ये खलङ्गाबाट कोठेधारसम्म सडक महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडकले नै निर्माण गर्ने आयोजना प्रमुख अच्युतविलास पन्तले बताउनुभयो । “यहाँसम्मको ४७ किलोमिटर सडक हामीले बनाउँछौंँ”, पन्तले भन्नुभयो, “अहिलेसम्म ४३ किमि सडकको ट्रयाक खुलाएका छौँ ।”

Share Now

Leave a comment.