
भरतपुर(चितवन), ८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका तर्फबाट आजै दुई जना प्रतिनिधि ओली सरकारमा सहभागी बन्ने बताएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको १२ घण्टा नबित्दै मंगलबार बिहान गृह जिल्ला चितवन पुगेका प्रचण्डले भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले मंगलबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘पार्टी एकता हुन्छ कि हुँदैन ? वामपन्थीको बलियो सरकार बन्छ कि बन्दैन ? देश समृद्धितिर जान्छ कि जाँदैन ? भन्ने अन्यौल अब समाप्त भएको छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गुणात्मक रुपले नै दुई पार्टीलाई एकतावद्ध गर्न सफलता मिलेको दावी गरे । ‘यो आम नेपाली जनताको निम्ति खुसीको कुरा हो । यसको प्रभाव दक्षिण एसिया र विश्वभर पर्नेछ’ प्रचण्डले भने ।
पार्टी एकता टुंगोमा पु¥याउँने काम असाधारण किसिमले सम्पन्न भएको भन्दै उनले यसलाई दूरगामी परिघटनाको रुपमा लिनुपर्ने बताए ।
सोमबार मध्यरातमा भएको पार्टी एकता सम्बन्धी सातबुँदे सहमतिका रुपमा लिनुपर्ने र सहमतिपछि दुबै पार्टीमा अब कुनै किसिमको असन्तुष्टि नरहेको प्रचण्डको भनाई छ ।
‘उनले भने, गत असोजमा वाम गठबन्धन निर्माणसँगै गरिएको पार्टी एकताको संकल्प अहिले पूरा भएको छ आउने दिन सफलताका नयाँ दिन हुनेछन् । यस अर्थमा सबैले खुसी मनाउन सक्छौं । नेपाली जनताको हितमा राष्ट्रको समृद्धिको पक्षमा हामीले यो काम गरेका हौं ।’
एकीकृत पार्टीका अध्यक्ष प्रचण्डले दुबै पार्टी अब करिब करिब एउटै पार्टी भइसकेको पनि बताए । ‘निर्वाचन आयोगमा गएर नयाँ पार्टी दर्ता नगरेसम्म कानुनीरुपमा पार्टी एक भयो भन्न त मिल्दैन’ उनले भने, ‘व्यावहारिक रुपमा पार्टी एक भइसकेको छ ।’
पार्टी एकतापछि दुई वर्षभित्रै एकताको महाधिवेशन गरिने जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘एकीकृत पार्टीको मधाधिवेशनसम्म कमरेड केपी ओली र म दुबै जना पार्टी अध्यक्ष रहन्छौं । एउटा बैठकको अध्यक्षता कमरेड ओलीले गर्नु हुनेछ, अर्को बैठकको अध्यक्षता मैले गर्नेछु । को–चेयरको अभ्यास विश्वका अन्य पार्टीमा पनि भएको छ । हामीले पनि त्यस्तै अभ्यास गर्न लागेका हौं ।’
सरकारमा सहभागी आजै
अध्यक्ष प्रचण्डले ओली सरकारमा आफ्ना दुई जना नेतालाई आजै (मंगलबार) सहभागी गराउने पनि बताए । ‘को को जानुहुन्छ भन्ने तय भइसकेको छैन’ अध्यक्ष प्रचण्डले भने, ‘आजैको दिन सरकारमा हाम्रो सहभागिता रहन्छ । यसपछि बिस्तारै सरकारले पनि पूर्णता पाउनेछ ।’
एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएपनि यही नाम गरेका अन्य पार्टी पनि छन् नि भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘नाममात्रका नेपाल कम्युनिष्ट पार्टी अरु पनि होलान् । वैधानिक र राष्ट्रिय हैसियत भएको नेपाल कम्युनिष्ट पार्टी यहीँमात्र हुनेछ । अन्य कम्युनिष्ट पार्टीलाई पनि एकीकरण गर्ने पहल गरिरहेका छौं ।’
अन्तरिम विधान निर्माण र सांगठनिक संरचना मिलाउन कार्यदल बनाइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले कार्यदलको प्रतिवेदन आएपछि औपचारिक रुपमा पार्टी एकीकरणको घोषणा गरी निर्वाचन आयोगमा पार्टी दर्ता गरिने पनि बताए ।