Prakash Adhikari July 13, 2021

वीरेन्द्रनगर(सुर्खेत), २९ आषाढ ।  वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो । यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो । कर्णालीमा प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो ।

पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रभाकरप्रसाद सिंहले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ठूलो क्षमताको प्रयोगशाला स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रु एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशाला स्थापना भएको हो । ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गत रहनुपर्ने भए पनि तत्काललाई प्राविधिक कारण भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमातहत सञ्चालन गर्नुपरेको निर्देशनालय प्रमुख सिंहको भनाइ छ ।

भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित गर्न प्रदेश सरकारले प्राथमिकताका साथ प्रयोगशाला स्थापना गरेको बताउनुभयो । “पिउने पानीको स्वच्छता उपभोक्ताले थाहा पाउनैपर्छ, पानीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले दूषित पानी उपभोग गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “सुर्खेतमै प्रयोगशाला हुँदा पानीजन्य रोगको पहिचान र त्यसको निरुपण गर्न धेरै सहज हुनेछ ।”

प्रयोगशालाका लागि कम्तीमा तीन जना जनशक्ति आवश्यक रहेको बताइएको छ । प्रयोगशाला प्रमुखका लागि रसायन विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति, खानेपानी ल्याब प्राविधिक र एक सहयोगी कर्मचारीका लागि दरबन्दी सिर्जना गरिएको छ । आगामी भदौ महिनाभित्र करार जनशक्तिको व्यवस्थापन गरिसक्ने मन्त्रालयले जनाएको छ ।

Share Now

Leave a comment.