काठमाडौं, १६ भाद्र । प्रदेश नं १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
उहाँहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएका हुन् ।
प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा (लिम्बू) पदमकुमारी गुरुङ, सुनिताकुमारी चौधरी, उपेन्द्रप्रसाद घिमिरे र कृष्णकुमारी राई रहनुभएको छ ।
सनाखत कार्य यही भदौ २२ गते ५ बजेसम्म हुने र त्यससम्बन्धी सम्पूर्ण कागजात केन्द्रीय निर्वाचन आयोगमा पठाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपा एकीकृत समाजवादी नेता राजेन्द्र राईले वर्तमान सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले भदौ २२ गतेसम्म थप सातदेखि आठ जना सदस्यले नेकपा (एकीकृत समाजवादी) मा आउने दाबी गर्दै भदौ २३ गतेपछि सरकार निर्माणको प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । नेता राईले प्रदेशका गठबन्धन दलबीचको आपसी सहमतिमा मुख्यमन्त्री चयन गरिने भएकाले सङ्घीय सरकारको कुनै हस्तक्षेप नहुने बताउनुभयो । सनाखत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तामा ठूलो समूह उपस्थित थियो ।
कर्णालीमा एमालेका तीन सदस्यले
कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् ।
प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्नुभएको हो ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी दिनुभयो । उहाँले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आवद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताउनुभयो । कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लङ्घन गरेको आरोपमा पार्टीले कारवाही गरी पदमुक्त गरेको थियो ।
हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको सङ्ख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांगे्रसका छ, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
नेकपा (एकीकृत समाजवादी) रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य हुनुहुन्छ । वलीले वैशाख ३ गते नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याउनुभएको थियो ।


















