Prakash Adhikari September 2, 2021

काठमाडौँ, १७ भाद्र।संस्थाको आचारसंहिता विपरित आफैले अनुगमन गर्ने सर्वोत्तम सिमेण्टको शेयर सर्वसाधारणमा बिक्रि हुुनुपहिले खरिद गरेको आरोप खेप्नुभएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अनुसन्धान गर्न सरकारले जाँचबुझ समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेयर खरिद विवादमा तानिएका अध्यक्ष ढुंगानाविरुद्ध छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

मन्त्री कार्कीका अनुसार धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ बमोजिम बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न पूर्वन्यायाधीश डुम्रेको अध्यक्षतामा गठित समितिको विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल र कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहनुभएको छ।

बुक बिल्डिङ प्रणालीबाट सेयर जारी गर्ने प्रक्रियामा गएको सर्वोत्तम सिमेन्ट प्रालिको शेयर बोर्डबाट अनुमति लिने प्रक्रिया सुरु भएपछि आफ्नो पदाधिकारको दुरुपयोग गर्दै दवाव र प्रभावका भरमा १० हजार कित्ता आफ्नी अमेरिकामा रहेकी छोरी रेबिका ढुंगानाको नाममा खरिद गर्नुभएको थियो ।

शेयर जारी गर्न अनुमति दिने संस्थाका प्रमुखले कम्पनीबारेको संवेदनशील जानकारीका आधारमा सेयर खरिद गर्दा बोर्डको अध्यक्ष तथा सञ्चालकको गम्भीर नैतिक विचलन भएको आरोप लगाउदै बोर्डको कर्मचारी युनियनले पनि उहाँको राजिनामा मागेको छ ।

तर उहाँ भने बोर्डका उच्चअधिकृतहरुलाई अगाडि सारेर कानूनले परिवारको सदस्यकाबारेमा शेयर खरिद गर्न निषेध नगरेकोले आफ्नो खरिद कानूनविपरित नरहेको जिकिर गरिरहनुभएको छ । उहाँको यस कदमले बोर्डका उच्च पदस्थ कर्मचारीहरुले यस्तै प्रक्रियाबाट शेयर खरिद गरेको आशंका गरिएको छ ।

अर्थ मन्त्रालयले यस प्रकरणमा बोर्डसँग स्पष्टीकरण माग गरिसकेको छ  र संसदीय समितिले पनि यस विषयमा छानबीन गर्न थालेको छ ।

नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो ।

यही प्रकरणमा विवादमा तानिनुभएका नेपाल स्टक एक्सचेन्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने मन्त्रालयसमक्ष राजीनामा दिइसक्नुभएको छ । सोही प्रकरणमा तानिएपछि नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिका रुपमा बोर्डको सञ्चालक रहेका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी चन्द्र ढकालले पनि बोर्डको सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिइसक्नुभएको छ।

 

Share Now

Leave a comment.