Prakash Adhikari September 23, 2021

काठमाडौं, ७ असोज । यही असोज ९ गते शनिवारदेखि आरम्भ हुने नेपालको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सहभागी बन्न विभिन्न टिममा आबद्ध विदेशी खेलाडीहरु नेपाल आउन थालेका छन् ।

हालसम्म वेस्टइन्डिजका फास्ट बलर केसरिक विलियम्स, दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभी, पाकिस्तानका शाहित अफ्रिदि र श्रीलंकाका पूर्व कप्तान उपुल थारांगा र श्रीलंकन पूर्व क्रिकेटर धम्मिका प्रशाद नेपाल आइपुगेका छन्।

पोखरा राइनोज टिममा अनुबन्धित रहेका ३१ वर्षीय खेलाडी केसरिक विलियम्स सोमबार दिउँसो नेपाल पुगेका हुन्। उनी लिगको लागि नेपाल आइपुग्ने पहिलो टेस्ट राष्ट्रका क्रिकेटर हुन्।

२०१६ मा वेस्टइन्डिजको लागि टि २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका विलियम्सले देशको लागि ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टि२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गर्ने क्रममा ९ र ४१ विकेट लिएका छन्। उनि भर्खरै वेस्टइन्डिजमा सम्पन्न करेबियन प्रिमियर लिगको (सीपीएल) उपविजेता टिम सेन्ट लुसिया किंग्स टिममा थिए। सीपीएलमा उनले ८ खेलमा ११ विकेट लिंदै राम्रो लय देखाएका थिए।

रिचर्ड लेभी नेपाल आइपुगे

शनिवारदेखि सुरु हुने ईपीएलको चौंथो संस्करणमा सहभागी हुन दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभी नेपाल आइपुगेका छन्।

३३ वर्षीय दायाँ हाते ब्याट्सम्यान यो सिजन पनि पोखरा राइनोजबाट खेल्दैछन्। राइनोजमा लेभी बाहेक विदेशी खेलाडीको रुपमा वेस्टइन्डिज बलर केसरिक् विलियम्स श्रीलंकाका अलराउण्डर असेला गुनरत्ने, पूर्व श्रीलंकन यु १९ क्रिकेटर सहान अरचिगे रहेका छन्।

लेभीले गत सिजन ईपीएलमा ४ खेल खेल्ने क्रममा २०४ रन बनाएका थिए। त्यस क्रममा उनले ललितपुर बिरुद्ध एक खेलमा ३९ बलमा ३ चौका र ९ छक्का मद्दतले ८४ तथा भैरहवा बिरुद्ध ३६ बलमा ७ चौका र ७ छक्का मद्दतले ७९ रन बनाएका थिए।

अघिल्लो सिजन पोखरा राइनोजकै प्रतिनिधित्व गरेका लेभिले दक्षिण अफ्रिकाका लागि १३ टि २० अन्तर्राष्ट्रिय खेलको अनुभव हासिल गरेका छन् । २०१२ पछि दक्षिण अफ्रिकी टिममा नरहेका लेभि इंग्ल्यान्डको काउन्टी क्रिकेटमा नर्थम्प्टनशायरबाट खेल्ने गर्छन्।

पोखरा राइनोज टिममा राष्ट्रिय क्रिकेटर बिनोद भण्डारी, सुनिल धमला, सुशन भारि, बिक्रम सोब लगायत रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, किशोर महतो, नन्दन यादव, देव शाह, अर्जुन कुमाल र बिपिन खत्री जस्ता युवा खेलाडीहरु आवद्ध रहेका छन्। टिमको प्रशिक्षकमा राष्ट्र्यीय टिमका पूर्व प्रशिक्षक उमेश पटवाल, बलिंग प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन रहेका छन्।

ईपीएलको गत सिजन पोखरा लिग चरणको ५ वटै खेलमा पराजित हुँदा प्लेअफ चरण पुग्न असफल रहेको थियो।

 

आइपुगे अफ्रिदी

विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आइपुगेका छन्।

ह्नेपाल आइपुगे पछि प्रतिक्रिया दिने क्रममा अफ्रिदीले आफूलाई घर जस्तै महसुस भएको प्रतिक्रिया दिए। उनले आफूले ईपीएलमा सुरुवाती दुई खेल मात्र खेल्ने पनि बताए।

उनि ईपीएलमा सन्दिप लामिछाने कप्तानीको टिम काठमाडौँ किंग्स-११ को प्रतिनिधित्व गर्दैछन्। टिमले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्दैछ।

नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन्। लिगमा यस अघिको संस्करणहरुमा श्रीलंकाका फर्भेज महरुफ, दक्षिण अफ्रीकाका रिचर्ड लेभी तथा टेस्ट राष्ट्र आयरल्याण्डका केभिन ओ ब्रायन, पल स्टरलिंग जस्ता खेलाडीहरु खेलेका थिए। यो सिजन पनि बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, जिम्बाब्वेका सिकन्दर राजा, रायन बर्ल, अफगानिस्तानका मोहम्मद शाहजाद, दक्षिण अफ्रीकाका रिचर्ड लेभी, वेस्टइन्डिजका केसरिक् विलियम्स, चन्द्रपौल हेमराज जस्ता खेलाडीहरु ईपीएल खेल्दैछन्।

काठमाडौँ किंग्स ११ टिममा कप्तान सन्दीप बाहेक अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा समाबेश रहेका छन्। अन्य विदेशी खेलाडीको रुपमा टिममा अफ्रिदी पछि जिम्बाब्वेका अलराउण्डर रायन बर्ल, अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमनुल्लाह गुर्बज र सिंगापुरका जनक प्रकाश रहेका छन्।

आइपुगे थारांगा र धम्मिका प्रसाद पनि

सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान उपुल थारांगा र श्रीलंकन पूर्व क्रिकेटर धम्मिका प्रशाद नेपाल आइपुगेका छन्।

थारांगा र प्रशाद ईपीएलमा शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गर्दैछन्। यस्तै टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि मंगलबार बिहानै नेपाल आइपुगेका छन्।

भैरहवा ग्ल्याडीएटर्समा विदेशी खेलाडीको रुपमा बंगलादेशका स्टार क्रिकेटर तामिम इकबाल र मलेसियाका शर्भिन मुनिएन्डी रहेका छन्। टिममा नेपाली खेलाडीहरु कप्तान शरद भेसावकर पछि आरिफ शेख, प्रदिप ऐरी, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, अनिल खरेल, दुर्गेश गुप्ता र विकाश आग्री रहेका छन्।

भैरहवा ईपीएल को अघिल्लो दुई संस्करण २०१७ र २०१८ को उपविजेता टिम हो जो २०१७ फाइनलमा बिराटनगर वारियर्ससंग तथा २०१८ मा ललितपुर पेट्रिएट्ससंग पराजित भएको थियो।

 

 

Share Now

Leave a comment.