Prakash Adhikari September 25, 2021

बीरेन्द्रनगर(सुर्खेत), ९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका जाजरकोट, दैलेख मुगु, जुम्ला र हुम्लाका अधिकांश वडातहको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ ।

दैलेखका ९० वडामा सभापतिदेखि सबै कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएका छन् । वडामा सर्वसम्मतरुपमा नेतृत्व छनौट हुँदा जिल्ला नेतृत्वका लागि भने धेरै आकांक्षी छन् । त्यस्तै जाजरकोटका ७७ वटा वडाको नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । यद्यपी जिल्लाको नेतृत्व चयनमा भने चुनाव हुन सक्ने सम्भावना देखिन्छ । जुम्लाका ६० वडामा सम्पूर्ण कमिटीमा सर्वसम्मत नेतृत्व निर्वाचित भएका छन् ।

सुर्खेत र डोल्पामा भने क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन । कांग्रेस सभापती कमलराज रेग्मीका अनुसार जिल्लामा सदस्यता विवाद हुँदा महाधिवेशन हुन सकेको छैन । कर्णालीका अन्य जिल्लाका वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व छनौट भएतापनि सुर्खेतका केही वडामा भने चुनाव हुने सङ्केत देखिएको छ ।

 

Share Now

Leave a comment.