कृष्णमणि बराल
पोखरा(कास्की), २ मंसिर । साहसिक खेल गतिविधिका निम्ति प्रख्यात पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेकै स्थान र अवस्थामा प्याराग्लाइडिङ उडान हुन नसक्ने अधिकारीहरूले औँल्याएका छन्।
अहिले प्याराग्लाइडिङ उडान हुँदै आएको पोखराको सराङकोट क्षेत्र हवाई उडान परिधिभित्र पर्ने हुँदा हवाई उडान र प्याराग्लाइडिङ उडान एकसाथ गर्न समस्या हुनसक्ने उनीहरूको भनाइ छ।
पर्यटन व्यवसायीले भने हवाई उडानलाई बाधा नपुग्ने गरी भरपर्दो विकल्प खोजी गरिनु पर्नेमा जोड दिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी वैशाखदेखि सञ्चालन हुने गरी निर्माणको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्याराग्लाइडिङ खेल विस्थापित हुन नदिन अध्ययन भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक म्यानेजमेन्ट विभागका प्रमुख सुवर्णराज उपाध्यायले बताउनुभयो ।
पोखरामा प्याराग्लाइडिङको इतिहास
पर्यटन व्यवसायी बिरु बमजन र बेलायतका नागरिक एडम हिलले सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ खेलका गतिविधि सुरु गर्नुभएको थियो।
बमजन र हिलले सन् २००० मा नेपालकै पहिले प्याराग्लाइडिङ कम्पनीको रूपमा सनराइज प्याराग्लाइडिङ दर्ता गरेर पहिलो पटक प्याराग्लाइडिङ गतिविधिलाई व्यावसायिक रूपमा अघि बढाएको नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष योगेश भट्टराई बताउँनुहुन्छ।
सुरुका वर्षहरूमा प्याराग्लाइडिङको व्यावसायिक उडान र एकल उडानमा पनि विदेशी प्यारापाइलटको वर्चस्व रहने गरेको नेपालका पहिलो व्यावसायिक प्यारापाइलट राजेश बमजनको भनाइ छ।
एकल उडान र व्यावसायिक उडानमा समेत गरी बर्सेनि ९ सयभन्दा बढी विदेशी नागरिक पोखरामा प्याराग्लाइडिङ क्षेत्रमा व्यस्त रहन्थे। पछिल्लो समयमा नेपालीले पनि प्याराग्लाइडिङ उडानको विषयमा अध्ययन गर्न थालेपछि विदेशी पाइलटहरू कम हुँदै गएको उहाँले सुनाउनुभयो।
पोखरामा साहसिक प्याराग्लाइडिङ खेलका गतिविधि सञ्चालन भएको २५ वर्ष पुगेको छ।
प्यारामा आकासमा उडेर आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण प्रथम, धवलागिरि र मनास्लु हिमालको अवलोकन गर्दै गर्न सकिने र प्याराग्लाइडिङ खेलका गतिविधिले विश्व पर्यटन बजारमा ख्याति कमाएको हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष भट्टराईले बताउनुभयो।

अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ
विदेशी र स्वदेशी पर्यटकसहित पोखरामा बर्सेनि एक लाख ५० हजारभन्दा बढीले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार लकडाउन हटेपछि मौसम अनुकूल हुँदा अहिले दैनिक चार सयदेखि पाँच सय जनाले प्याराग्लाइडिङ गर्छन्।
पोखरामा प्याराग्लाइडिङको वर्ल्डकप, प्रिवर्ल्डकप, एसियन च्याम्पियन सीप, न्याश्नल च्याम्पियनसिपका साथै नेपाल हवाई खेलकुद संस्थाले बर्सेनि गर्ने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुँदै आएको थियो।
अध्यक्ष भण्डारीका अनुसार लकडाउनसँगै प्याराग्लाइडिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता रोकिएका छन्।

प्याराग्लाइडिङ
पोखरामा ६४ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता छन्। प्याराग्लाइडिङ व्यवसायमा ३ सय ५० जना प्यारापाइलटसहित एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए।
यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताकै कारण नेपालले १८ औँ एसियाडमा बीस वर्षपछि प्याराग्लाइडिङ खेलबाट नेपाललाई ऐतिहासिक रजत पदक पोखरेली युवाहरूले दिलाएका थिए ।
उडान र प्याराग्लाइडिङ एकसाथ हुन नसक्नुको कारण
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का एअर ट्राफिक म्यानेजमेन्ट (एटिएम) विभागका प्रमुख सुवर्णराज उपाध्याय भन्छन्, ूअन्तर्राष्ट्रिय उडान पश्चिम हुँदै गर्नुपर्ने र मिस एप्रोच अर्थात् पूर्वतिरबाट अवतरण गर्दा समस्या भएमा पश्चिम हुँदै अवतरण गर्नु पर्दा प्याराग्लाइडिङ उडान हुँदै आएको सराङकोट, तोरीपानी र मान्द्रेढुङ्गा क्षेत्र हुँदै जहाज अवतरण गर्नुपर्ने हुन्छ।ू
त्यसैले एक साथ हुन नसक्ने उनले बताए। पोखरा उपत्यकाभित्र एअर स्पेस लम्बाइ झन्डै २६ किलोमिटर र चौडाइ छ किलोमिटर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार प्याराग्लाइडिङ गतिविधि हुँदै आएको क्षेत्रको दूरी छ किलोमिटर भित्रै पर्छ। तर उपाध्यायले विकल्प खोजी भइरहेको जानकारी दिनुभयो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री प्राधिकरण प्याराग्लाइडिङ व्यवसायलाई विस्थापित गर्नेभन्दा पनि पोखरामै स्थापित गर्नमा केन्द्रित रहेको बताउँनुहुन्छ।
अन्तर्राष्ट्रिय जहाज उडान नहुने समयमा अहिले उडान भएका क्षेत्रमा उडान गर्न मिल्ने भएसम्म निश्चित समयमा कडा अनुशासनमा रहेर उडान अनुमति दिन सकिनेतर्फ अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ३० अर्ब लगानी गरेर ४० वर्षको अथक प्रयासमा बनाइएको र यसको सञ्चालन राम्रो होस् र भएका प्याराग्लाइडिङ पनि चलिरहुन् भन्नेमा लागिरहेको महानिर्देशक क्षेत्रीको भनाइ छ।
अहिलेकै स्थानबाट उडान सम्भव
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम ८७ प्रतिशत सम्पन्न भएको र चैत महिनाभित्रै सम्पन्न गरी बुझाउने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
व्यवसायीहरूले भने अहिले सञ्चालन भइरहेको उडान क्षेत्रबाटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पनि प्याराग्लाइडिङ उडान गर्न अन्तर्राष्ट्रिय अभ्यास अनुसार सम्भव देखिएको बताएका छन्।
यसको विकल्प अन्यत्र हुन नसक्ने उनीहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थल
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारी भन्नुहुन्छ, ू२५ वर्ष लगाएर बनाएको पोखराको प्याराग्लाइडिङको ब्रान्ड चटक्क छोडेर अन्यत्र जान सक्ने अवस्था छैन।ू
तर यही अवस्थामा छरपस्ट भएर प्याराग्लाइडिङ व्यवसाय हुन सक्दैन भन्ने आफूहरूलाई पनि लागेको र व्यवस्थित गरेर यहीँ सञ्चालन हुनसक्ने उनले बताए।
व्यवसायिक प्यारापाइलट राजेश बमजनका भनाइमा पोखराको ब्रान्डको रूपमा रहेको प्याराग्लाइडिङका कारण पोखरामा पर्यटकको बसाई लम्बिने गरेको छ।
प्याराग्लाइडिङ उडान सुरक्षा
बमजन भन्नुहुन्छ, “पोखराको पर्यटनको मेरुदण्डको रूपमा स्थापित भइसकेको प्याराग्लाइडिङ अहिले सञ्चालन भइरहेको ठाउँबाट विस्थापित भएमा पोखराको पर्यटन मारमा पर्नेछ।”
स्विजरल्याण्ड, न्युजिल्याण्ड लगायतका देशका अन्तर्राष्ट्रिय अभ्यास हेरेर पोखराको प्याराग्लाइडिङ गतिविधि बचाइ रख्नु पर्ने बमजनको सुझाव छ।
साहासिक खेलको गतिविधिमा पर्ने प्याराग्लाइडिङ उडानका क्रममा बेला बेलामा दुर्घटना पनि हुने गरेका छन्।
सन् २०१० यता पोखरा र वरपर प्याराग्लाइडिङ दुर्घटनामा परी १६ जनाको मृत्यु भएको नागरिक उडडयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभएको छ।
उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ११ जना विदेशी र चार जना नेपाली छन्।


















