बैतडी, ५ मङ्सिर । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देहिमाडौँबाट जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा चार जनाको मृत्यु भएको छ, प्रहरी उद्धारमा खटिएको छ ।” दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।
घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ । जीप सडकबाट सात सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।