
वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २० फागुन (बीबीसी) ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली निर्यातकर्ताहरूलाई स्टील एवं अलुमिनियमका साथै कारहरूमा थप कर लगाउने चेतावनी दिएका छन्।
स्टीलमा राजश्व बढाइए प्रतिकार गर्ने वाचा युरोपेली संघले गरेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।
उनले अमेरिकी व्यापार घाटा कम गर्ने कदम चाल्न आफू दृढ रहेको बताएका छन्। तर उनका कतिपय सल्लाहकारले सवाधानीपूर्वक कदम चाल्न भनिरहेको बुझिन्छ।
अमेरिकाले स्टील र अलुमिनियममा चर्को भन्सार शुल्क लगाउने निर्णय गरेपछि उसका प्रमुख व्यापारिक साझेदारहरूका साथै अन्तराष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनले त्यसको आलोचना गरिरहेका छन्।
कर
युरोपेली संघका व्यापार हेर्ने निकायका प्रमुखले अमेरिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको विवरण आएका हुन्।
अमेरिकाबाट आयत हुने लिभाइस जिन्स, हार्ली डेभिड्सन मोटरसाइकल र बर्बन ह्विस्की उक्त करको निशानामा पर्ने युरोपेली आयोगका अध्यक्ष जाँ क्लड योंकरले बताएका छन्।
शनिवार सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले इयुले अमेरिकी उत्पादनहरुमा थप शुल्क लगाए विना कर अमेरिका प्रवेश गरिरहेका युरोपमा निर्मित कारहरूमा शुल्क लगाउने चेतावनी दिएका छन्।
उनले एकदमै मूर्खतापूर्ण व्यापारिक कारोबारका कारण अरू देशहरूले वर्षौंदेखि अमेरिकाबाट फाइदा लिइरहेको पनि बताएका छन्।
ह्वाइट हाउसमा एउटा उतारचढावपूर्ण साता अन्त्य हुन लाग्दा ट्रम्पले पछिल्लो चेतावनी दिएका हुन्।
एक हप्तामा ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सको राजीनामा, ज्वाइँ ज्यारेड कुश्नरलाई दिइएका सुरक्षा जाँच छुटमा कटौती र बन्दुक नियन्त्रणसम्बन्धी नीतिमा पूर्ण परिवर्तन जस्ता घटनाक्रम सतहमा आएका थिए।
बजार
युरोपमा बन्ने कारहरूको मुख्य निर्यात बजार अमेरिका रहने गरेको छ।
सन् २०१६ मा युरोपेली संघले निर्यात गरेको एक खर्ब ९२ अर्ब युरो मूल्य बारबरका कारमध्ये २५ प्रतिशतसम्म अमेरिकामा आपूर्ति गरिएको थियो।
युरोपेली संघले गर्ने कार निर्यातमध्ये आधा जर्मनीबाट हुने गरेको छ र कुनै नयाँ करले त्यहाँको उद्योगलाई चोट पुर्याउने ठानिएको छ।
तर जर्मनीका कार उत्पादकहरूले धेरैलाई रोजगार दिएर प्रत्येक वर्ष अमेरिकामा नै लाखौँ कार उत्पादन गर्ने गरेका छन् र त्यो तथ्यलाई राष्ट्रपति ट्रम्पले नजरअन्दाज गरिरहेको जर्मन अधिकारीहरू बताउँछन्।