सानेपा(ललितपुर), १० पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएपछि आज अपरान्ह पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पहिलो बैठक बसेको थियो।
शनिबार पार्टी कार्यालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी र निर्वाचन आयोगमा दल दर्ता प्रस्ताव छलफल भएको थियो।
यस्तै बैठकमा संकल्प प्रस्ताव, धन्यवाद प्रस्ताव पेस गरिएको थियो।
आजको बैठकमा सभापति पदका उपविजेता डा. शेखर कोइराला भने उपस्थित हुनुभएन।
पुनःनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूको वरियता क्रम तोक्नुभएको छ।
विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा हुनुहुन्छ।
त्यसपछिको वरियतामा पदाधिकारीहरू छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्।
सभापति देउवासंग पराजित नेता डा.कोइरालालाई २० नम्बरमा राखिएको छ।
सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ।
सबैको भावना समेटछु ः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफूलाई भोट नदिनेहरुको भावना पनि समेटेर पार्टी सञ्चालन गर्ने बताउनुभएको छ ।
केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा सभापति देउवाले आफूलाई विश्वास गरेर निर्वाचित गराउनेलाई धन्यवाद दिँदै भोट नदिनेहरुको पनि प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउने बताउनुभएको हो ।
‘अब सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउछु । मलाई भोट दिनेहरुको मात्र नभएर, भोट नदिनेहरुको पनि भावनालाई समेटेर पार्टी सभापति भएर काम गर्छु । यसमा सबैको सहयोग हुन्छ भन्ने विश्वास छ’ सभापति देउवाले भन्नुभयो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा पुनः दोस्रो कार्यकालका लागि सभापति निर्वाचित हुनुभएको हो ।
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा पनि देउवाको तीन चौथाईभन्दा बढी मत रहेको छ।
सभापति देउवाले कांग्रेसमा वडातहदेखि केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउँदै यस्तो लोकतान्त्रिक अभ्यास नेपालका अरु दलमा नभएको दावी गर्नुभयो ।
‘यस्तो अभ्यास नेपालका कुनै पनि दलमा छैन, यसकारण कांग्रेस सच्चा डेमोक्रेटिक (लोकतान्त्रिक) पार्टी हो’ सभापति देउवाले भन्नुभयो,काङ्ग्रेसमा जस्तो समावेशी प्रतिनिधित्व पनि अरु पार्टीमा छैन ।
आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस नै ठूलो पार्टी बन्ने सभापति देउवाको दावी छ ।


















