Prakash Adhikari January 21, 2022

 

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ।

प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो।

नेपाली कांग्रेसका संसदीय दलका नेता देउवा गत असार २९ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका बागी सांसदहरु (पछि नेकपा एकीकृत समाजवादीमा समाहित), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री हुनुभएको थियो।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री देउवाले देशमा बढ्दै गएको कोरोना संक्रमण , प्रतिपक्षको कारण अवरुद्ध संसद र आफ्नो सरकारले गरेका कामकारबाहीबारे उल्लेख गर्ने संभावना रहेको बताइन्छ।

केही दिनअगाडि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरेका कामकारबाहीबारे प्रधानमन्त्रीले नै राष्ट्रका नाममा सम्बोधन गर्दै जानकारी गराउने पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो।

आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ ।

आज अपरान्ह ४ बजे चुनावबारे छलफल गर्न सत्तागठबन्धनमा रहेका दलहरुको राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बस्दैछ।

Share Now

Leave a comment.