
काठमाडौं, ७ माघ । नेपालमा शुक्रवार थप १० हजार ७ सय ३ जना मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको पनि मन्त्रालयको बिवरणमा उल्लेख छ।
अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड(१९ निरन्तर बढिरहेको छ र १० हजार भन्दाबढी सङ्क्रमण पुष्टि भएको शुक्रवार लगातार चौथो दिन हो।
तथ्याङ्कमा कोरोना संक्रमण
शुक्रवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १८ हजा ६ सय १८ वटा परीक्षण पीसीआर विधिबाट र ४ हजार ४ सय ७४ वटा एन्टिजन विधिबाट कुल २३ हजार ९२ परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४७.३ प्रतिशतमा र एन्टिजन परीक्षणमा ४२.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।
हाल देशभरि सङ्क्रमितको सङ्ख्या ६५ हजार ३ सय ७४ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाडौं उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।
सक्रिय सङ्क्रमितमध्ये ३० हजार ६ सय ८८ जना काठमाडौंमा, ७ हजार १ सय ४५ जना ललितपुरमा र ४ हजार २ सय २३ जना भक्तपुरमा छन्।
विगत २४ घण्टामा काठमाडौंमा ४ हजार २ सय ७९ जना, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५६ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
त्यस्तै मोरङमा ६ सय ४६ जना, सुनसरीमा ३ सय ३२ जना, झापामा २ सय ७६ जना, कास्कीमा २ सय५४ जना र रुपन्देहीमा २ सय ७२ जना नयाँ सङ्क्रमित थपिएका छन्।
अहिले आईसीयूमा १ सय ९४ जना र भेन्टिलेटरमा ३५ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ७ सय ६६ रहेको छ। नेपालमा कुल सङ्क्रमितमध्ये ९१.४ प्रतिशत निको भएका छन्।
अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।
सङ्क्रमित अझै बढ्ने सरकारी प्रक्षेपण
डेल्टा भेरिअन्टका कारण गएको चैत वैशाखमा दोस्रो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्।
तर सरकारले ओमिक्रोनबाट सङ्क्रमित व्यक्तिहरूका बारेमा छुट्टै तथ्याङ्क भने दिएको छैन।
पौष १८ मा देशभरि केवल २ सय १६ जनामा कोभिड पुष्टि भएकोमा पुस २५ गतेदेखि १ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।
खोप लगाउने लाइन
सङ्क्रमणदर वृद्धि भएसँगै उक्त सङ्ख्या गएको मङ्गलवार १० हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको थियो।
त्यसयता दैनिक सङ्क्रमितहरूको सङ्ख्या उकालो लागिरहेको देखिन्छ।
मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले आगामी हप्ता सङ्क्रमण उत्कर्षमा पुग्ने र एक दिनमै २० हजारसम्म सङ्क्रमण पुष्टि हुनसक्ने प्रक्षेपण गरेको छ।
सबैभन्दा बढी सक्रिय सङ्क्रमित देखिएका काठमाडौं उपत्यकामा शुक्रवार मध्यरातबाट लागु हुने गरी थप निषेधात्मक आदेश जारी गरिएको छ।
त्यसमा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै जोरबिजोर प्रणाली अन्तर्गत सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था राखिएका छन्।
घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड अनिवार्य रूपमा राख्न भनिएको छ।( स्रोतः बीबीसी।नेपाली)