Prakash Adhikari April 6, 2022

बेलका(उदयपुर), २३ चैत्र । उदयपुर जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपी विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ ।

घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो । यस हत्यामा संलग्न देखिएकी सरिता ढकाल(खत्री)लाई भने नाबालिक भएकोले प्रहरीले सार्वजनिक गरेको छैन तर तर उनले पनि हत्यामा संलग्न भएको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

भारतको सिक्किम राज्य वियुङका १९ वर्षीय विनोद ढकाल विगतएकवर्षदेखि बेलका नपा–३ बस्ने सरिताको घरमा बस्दै आएको जानकारी प्रहरीले दिएको छ ।

उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताउनुभयो ।

“अनुसन्धानबाट बिहानै हत्यामा संलग्न अभियुक्तहरुले किशोरीलाई बोलाई हत्या गरेको खुलेको छ ।” एसपी बोहोराले भन्नुभयो “वयानमा समेत उनीहरुले यो कुरा स्वीकार गरेका छन् ।” हत्याको मुख्य योजनाकार नाबालिक रहेकी सरिता हुन् ।

एसपी बोहोराका अनुसार हत्या गर्नुको कारण साथीसाथीबीच प्रतिशोध रहेको बुझिएको छ । मृतक कविता र हत्यामा संलग्न भएको आरोपित सरिता दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत साथी हुन् ।

उनीहरुबीच विभिन्न कुरामा मनमुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साँध्न मार्ने योजना बनाएको उनले प्रहरीसमक्ष कबुल गरेकी थिइन् ।

सो योजनामा विनोदको मद्दत लिएर उनले हत्या गरेको पाइएको छ । योजना मुताविक नै विनोदले सुरुमा पछाडिबाट खाली वियरको बोतलले टाउकोमा प्रहार गरेर अरुले थाहा पाउछन् भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको उनीहरुले बयान दिएका छन् ।

उनीहरुले हत्या गरेपछि करिब ४० मिटर टाढा लगेर लास फालेका थिए ।

सदा झै विहान ट्युसन पढ्न घरबाट हिडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए ।

हत्यापछि घरै बसेका उनीहरुलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो ।

मृतकको बुवा कृष्ण सुनुवारले हिजै उनीहरुको नामसहित किटानी जाहेरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडि बढाउने क्रममा आज दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ ।

दोषी नाबालिकलाई पाँच दिन र विनोदलाई सात दिनको म्यान थप भई थप अनुसन्धान अगाडि बढेको जनाइएको छ ।

मृतक किशोरीको शब पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

घटनाको २४ घण्टासम्म पनि अपराधी पत्ता नलागेको भन्दै स्थानीय र मृतक परिवारले किशोरीको शब जिम्मा लिन मानेको थिएन ।

सडकजाम तथा बजारमा प्रशासन विरुद्ध प्रदर्शन गरेका स्थानीयले छिटो हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरेका थिए ।

आन्दोलन भड्काव किसिमको हुने स्थिति भएपछि आजै सर्बपक्षीय छलफल भएको थियो । छलफलले पीडितलाई उचित न्याय र क्षतिपूर्ति दिलाउन सबै लागि पर्ने र अपराधी पत्ता लगाई कारवाही गर्न प्रहरीलाई सहयोग गर्ने सहमति बनेको थियो ।

यता सहमति संगै प्रहरीले हत्यामा संलग्न दुईजनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

किशोरीको हत्यापछि हिजैदेखि शोकमा डुबेको बेलका नगरपालिका क्षेत्रमा आज सबै विद्यालयमा शोक विदा भयो ।

मृतक किशोरी विद्यालयमा अनुशासित र पढाईमा मिहिनेती र जेहेन्दार रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले बताउनुभयो ।

विद्यालयको एउटा राम्रो विद्यार्थी गुमाउनु परेको र परिवारको एक असल छोरी गुमाउनु परेको भन्दै स्थानीयले मृतक किशोरीको नाम अमरत्व हुने किसिमको केही काम गर्न नगरपालिका र विद्यालय प्रशासनसंग माग राखेको छ ।

Share Now

Leave a comment.