Prakash Adhikari May 11, 2022

टेसा वोङ/बीबीसी न्यूज
कोलम्बो(श्रीलंका), २८ बैशाख । श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ।

सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भिडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेको थियो।

श्रीलङ्कामा आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार राष्ट्रपति गोटाबय राजपक्षका दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो।

तर उहाँको राजीनामापछि पनि प्रदर्शनकारीहरू संयमित भएका छैनन्। राजपक्ष आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू उहाँको निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए ।

सोमवारयता श्रीलङ्कामा चर्किएको प्रदर्शनमा सात जनाको मृत्यु भइसकेको छ भने १ सय ९० जना घाइते भएका छन्।

कर्फ्यू लम्बियो
हिंसात्मक प्रदर्शन साम्य बनाउन अधिकारीहरूले बुधवार बिहानसम्मका लागि उक्त देशभरि कर्फ्यू आदेश लम्ब्याएका छन्।

धेरै प्रदर्शनकारीहरूले महिन्दा राजपक्षका भाइ समेत रहेका राष्ट्रपति गोटाबय राजपक्षको राजीनामा पनि माग गरिरहेका छन्।

श्रीलङ्कामा मूल्यवृद्धि र विद्युत् आपूर्ति कटौतीको विरोधमा गत महिनाबाटै प्रदर्शन चर्किएको छ।

सरकारका समर्थकहरू र प्रदर्शनकारीहरूबीच महिन्दा राजपक्षको निवास टेम्पल ट्रीबाहिर सोमवार हिंसात्मक झडप भएको थियो। उनीहरूबीच मुख्य प्रदर्शनस्थल गल फेश ग्रीनमा पनि झडप भएको थियो।

प्रहरीको घेरा तोडेर प्रदर्शनकारीहरूमाथि लाठीसहित आक्रमण गरेका सरकार समर्थकहरूमाथि प्रहरी र दङ्गा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

श्रीलङ्कामा कर्फ्यू

श्रीलङ्कामा कर्फ्यू

घटनापछि क्रुद्ध बनेका प्रदर्शनकारीहरू सरकार समर्थकहरूमाथि जाइ लागेका थिए। उनीहरूले सत्ताधारी दलका सांसदहरूमाथि पनि आक्रमण गरेका थिए।

उनीहरूको तारोमा परेका एक सांसदले आफ्नो कारमा भिडले आक्रमण गरेपछि दुई जनामाथि गोली प्रहार गरेर आफूले आत्महत्या गरेको श्रीलङ्का प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूको भिडले राति राजपक्ष, विभिन्न मन्त्री र सांसदहरूका घरमा आगो लगाएका थिए। राजपक्ष परिवारले विवादास्पद सङ्ग्रहालय बनाएको दक्षिण श्रीलङ्कास्थित हम्बन्टोटा गाउँमा रहेको उनीहरूको पैतृक घरमा पनि आगजनी गरिएको छ।

आगो लगाएर हर्षोल्लास
सामाजिक सञ्जालमा राखिएका भिडिओमा घरमा आगो दन्किँदा मानिसहरूले हर्षोल्लास गरिरहेको देखिन्छ।

राष्ट्रपति निवासछेउछाउका क्षेत्रमा पनि आगजनी भएको विवरणहरू आएका छन्। आफ्नो घरमा भएको आक्रमणमा परेका एक नगरविधायकको अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

महिन्दा राजपक्ष आफू निकटस्थ समर्थकहरूसँग छलफलमा रहेका बेला प्रदर्शनकारीहरूले उहाँको निवासको भित्री परिसरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए।

निवास परिसरमा राखिएको एउटा बसमा आगजनी गरेपछि प्रहरीले प्रदर्शनकारीहरूले तितरबितर पार्न अश्रुग्यास प्रहार तथा हवाई फायर गरेको थियो।

घटनापछि राजपक्षले कोलम्बो छोडनुभएको छ तर उहाँ कहाँ जानुभयो भन्ने जानकारी गोप्य राखिएको छ।

कोलम्बोको सबै क्षेत्रमा स्थिति तनावग्रस्त बनेको छ। लाठी र रड लिएका मानिसहरूले विमानस्थल जाने र आउने सडकमा अवरोध सिर्जना गरेका छन्।

प्रायः प्रहरी र सुरक्षाकर्मीहरूको देखा परिरहने स्थानहरूमा पनि अहिले उनीहरूको उपस्थिति देखिएको छैन।

सबैभन्दा खराब आर्थिक सङ्कट
श्रीलङ्काले सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कट बेहोरिरहेको छ। महँगी बढ्दा जीवनयापन गर्न लाग्ने खर्च धान्नै नसकिने भएपछि मानिसहरू आक्रोशित भएका छन्।

देशको विदेशी मुद्रा सञ्चिति रित्तो भएको छ भने मानिसहरूले खाना, औषधि र इन्धनजस्ता अत्यावश्यक सामग्री पाउन सकिरहेका छैनन्।

सरकारले आपत्कालीन आर्थिक सहयोगका लागि आग्रह गरिरहेको छ।

सरकारले कोरोनाभाइरस महामारीका कारण यस्तो परिस्थिति आएको दाबी गरेको छ।

पर्यटन श्रीलङ्कामा विदेशी मुद्रा कमाउने ठूला माध्यममध्ये एक हो।

तर धेरै विज्ञहरूले आर्थिक व्यवस्थापनको पाटोमा दोष देखाएका छन्।

 

Share Now

Leave a comment.