काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीले गठबन्धन सरकारमा आफूले पठाएका मन्त्रीहरु परिवर्तन गर्ने भएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिनुभएको छ ।
‘पहिले नै ६।६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उहाँले भन्नुभयो ।
पार्टीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी हुनुहुन्छ ।
अध्यक्ष नेपालको निर्देशन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको सपथ गर्न लागेका नेताहरुलाई पार्टीको प्रतिष्ठा बढाउनेगरी काम गर्न निर्देशन पनि दिनुभएको छ ।
आइतबारै अध्यक्ष नेपालले मन्त्री बन्न लागेका नेताहरुलाई कार्यालयमा बोलाएर पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्न निर्देशन दिनुभएको हो ।
अरु पार्टीका मन्त्रीहरुले भन्दा फरक र नमुनायोग्य काम गर्न पनि सुझाव दिनुभयो’, अध्यक्ष नेपालको निर्देशनपछि मन्त्रीका रुपमा सरकारमा जान लागेका मेटमणी चौधरीले भन्नुभयो ।
नेकपा समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।
निर्णयलगत्तै अध्यक्ष नेपालले नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको छ । ‘


















