Prakash Adhikari July 12, 2022

जोनाथन एमोस /बीबीसी विज्ञान सम्बाददाता

 

ह्वाइटहास(संयुक्त राज्य अमेरिका), २८ आषाढ । जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लो पल्ट खिचिएको ब्रह्माण्डको पूर्ण रङ्गिन तस्बिर सार्वजनिक गरिएको छ र यो उत्साहजनक छ।

यो तस्बिरले ब्रह्माण्डको सबभन्दा गहिरो, अति विस्तृत इन्फ्रारेड दृश्य देखाएको बताइएको छ। यो तस्बिरमा हामीकहाँ आइपुग्न अरबौँ वर्ष लागेको आकाशगङ्गाहरूको प्रकाश समेत खिचिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा जानकारी दिने क्रममा उक्त तस्बिर देखाइएको थियो।

जेम्स वेब टेलिस्कोपले खिचेका थप तस्बिरहरू मङ्गलवार नासाले गर्ने एउटा विश्वव्यापी प्रस्तुतिमाझ सार्वजनिक गर्दैछ।

राष्ट्रपति बाइडेनले भन्नुभयो, ” यी तस्बिरले सारा संसारलाई अमेरिकाले ठूल्ठूला काम गर्न सक्छ भन्ने सम्झाइरहनेछ र अमेरिकी खासगरी हाम्रा सन्ततिहरूलाई हामीले गर्न नसक्ने केही छैन भन्ने सम्झाइरहनेछ।हामी अरू कसैले यस अघि नदेखेका सम्भावनाहरू देख्न सक्छौँ। यस अघि कोही नपुगेको ठाउँमा हामी पुग्न सक्छौँ।”

तुलना

गत वर्षको डिसेम्बर २५ तारिखका दिन १० अर्ब अमेरिकी डलर मूल्य पर्ने जेम्स वेब टेलिस्कोप त्यस अघिको प्रख्यात हबल स्पेस टेलिस्कोपको उत्तराधिकारीका रूपमा प्रक्षेपण गरिएको थियो।

यसले आकाशको सबै प्रकारको पर्यवेक्षण गर्नेछ तर यसका दुई निश्चित लक्ष्य छन्।

पहिलो १३.५ अर्ब वर्ष अगाडि यो ब्रह्माण्डमा उदाएका पहिला ताराहरूको तस्बिर खिच्नु छ र अर्को सुदूर अन्तरिक्षमा रहेका कुनै ग्रह जीवन यापनका लागि योग्य छन् कि भन्ने पत्ता लगाउनु छ।

राष्ट्रपति बाइडेनसमक्ष प्रस्तुत गरिएको तस्बिरले वेब टेलिस्कोपले उद्देश्य अनुसारको ब्रह्माण्डीय वस्तुहरूको अन्वेषण गर्ने क्षमता प्रदर्शन पनि गरेको छ।

यो तस्बिरमा तपाईँले देखेको दृश्य भोलान्स नामक दक्षिणी गोलार्धका तारामण्डलमा रहेका आकाशगङ्गाको समूह हो जसलाई स्माक्स ०७२३ SMACS 0723 नाम दिइएको छ।

जेम्स वेब स्पेस टेलिस्कोप

जेम्स वेब स्पेस टेलिस्कोप
यो समूह त्यति टाढा छैन केबल ४.६ अर्ब प्रकाश वर्षको दूरीमा छ। तर यो समूहको बृहत् पिण्डले अझ टाढा रहेका वस्तुको प्रकाशलाई बङ्ग्याइदिएका र बढाइदिएका छन्।

यो एउटा गुरुत्वाकर्षण प्रभाव होः खगोलीय सन्दर्भमा एउटा टेलिस्कोपको जूम लेन्सले पार्ने जस्तै प्रभाव।

टेलिस्कोपमा जडित ६.५ मिटर चौडा सुनौलो ऐना र अति संवेदनशील इन्फ्रारेड उपकरणको सहयोगमा वेबले आकाशगङ्गाको यो टेढोमेढो तस्बिर खिच्न सफल भएको छ जुन बिग ब्याङ्ग भनिने ब्रम्हाण्डीय महा विस्फोट भएको भनिएको ६० करोड वर्षसम्म अस्तित्वमा थिए। ब्रह्माण्ड १३.८ अर्ब वर्ष पुरानो भएको मानिन्छ।

वैज्ञानिकहरूले वेबले उत्पादन गरेको डेटाको गुणस्तरबाट यो तस्बिरमा देखिएको सबभन्दा टाढाको वस्तुभन्दा पनि परको अन्तरिक्षका बारेमा समेत यो टेलिस्कोपले पत्ता लगाउन सक्ने अनुमान गरेका छन्।

फलस्वरूप यो अहिलेसम्मकै सबभन्दा गहन ब्रह्माण्डीय क्षेत्रको दृश्य बन्न पुगेको छ।

राष्ट्रपति बाइडेन

राष्ट्रपति बाइडेनले वेबले उत्पादन गरेका तस्बिरहरू पहिलोपटक सार्वजनिक गर्नुभएको छ ।

“प्रकाश १८६,००० माइल प्रति सेकेन्डको दरमा यात्रा गर्छ। र यहाँको ससाना धब्बामा देखिएको प्रकाश १३ अर्ब वर्षदेखि यात्रा गरिरहेको छ।” नासाका प्रशासक बिल नेल्सन भन्नुहुन्छ, “अनि हामी अझ पछाडि जाने छौँ किनभने यो त बल्ल पहिलो तस्बिर हो। उनीहरू साढे तेह्र अर्ब वर्ष पछाडि जाँदैछन् किनभने हामीलाई थाहा छ ब्रह्माण्ड १३।८ अर्ब वर्ष पुरानो छ र हामी करिब ब्रह्माण्ड सुरु भएको समयतिर पुग्दैछौँ।”

हबलले हप्तौँ आकाशको अवलोकन गर्थ्यो र यस प्रकारको परिणाम दिन सक्थ्यो। तर वेबले यो अति गहन तस्बिर साढे १२ घण्टा मात्र अवलोकन गरेपछि उत्पादन गरेको छ।

नासा तथा उसका अन्तर्राष्ट्रिय पार्टनरहरू युरोपेली र कनेडियाली अन्तरिक्ष एजेन्सीहरूले वेबले उत्पादन गरेका अन्य तस्बिरहरू मङ्गलवार सार्वजनिक गर्नेछन्।

र हाम्रो सौर्य मण्डल बाहिर रहेका ग्रहहरूबारे पनि छलफल हुनेछ।

वेबले पृथ्वीबाट १००० प्रकाश वर्ष भन्दा टाढा अवस्थित वास्प ९६ बी WASP-96 b नामक ग्रहको वायुमण्डलको विश्लेषण गरेको छ। त्यसले उक्त ग्रहको वायुमण्डलको रासायनिक बनोटका बारे बताउनेछ।

वास्प ९६ बी ले आफ्नो माउ ग्रहलाई असाध्यै नजिकबाट घुम्ने भएकाले त्यहाँ जीवन सम्भव छैन। तर वेब टेलिस्कोपले एक दिन त्यस्तो ग्रह पत्ता लगाउन सक्छ जसको वायुमण्डलको प्रकृति पृथ्वीको जस्तै छ र त्यसले त्यहाँ जीवनको उपस्थितिको सम्भावना उजागर गर्नेछ।

नासाका वैज्ञानिकहरूलाई वेबले यसका सम्भावनाहरू पूरा गर्नेछ भन्नेमा कुनै शङ्का छैन।

जेम्स वेब स्पेस टेलिस्कोप

जेम्स वेब स्पेस टेलिस्कोप

आयोजनका उपप्रमुख वैज्ञानिक डा. एम्बर स्टहनले मङ्गलवारको तस्बिर सार्वजनिक भएपछि भन्नुभयो, “मैले प्रारम्भिक तस्बिरहरू हेरेकी छु ती अद्भुत छन्।”

उहाँले थप्नुभयो, “ती तस्बिरको रूपमा आफैमा अद्भुत छन्। तर त्यसबाट पाइन सक्ने विस्तृत वैज्ञानिक सङ्केतहरू सम्झँदा म रोमाञ्चित भएकी छु।”

वेब प्रोजेक्टका परियोजना वैज्ञानिक डा. एरिक स्मिथले भन्नुभयो, “सर्वसाधारणले नयाँ टेलिस्कोपको महत्त्व बुझिसके जस्तो लाग्छ।वेबको डिजाइन र वेब जस्तो देखिन्छ त्यसबाट मानिसहरू उत्साहित छन् जस्तो लाग्छ। यो त भविष्यको अन्तरिक्ष जहाज जस्तो देखिन्छ।”

(नासाले मङ्गलवार नयाँ टेलिस्कोपबाट उत्पादित अन्य तस्बिर सार्वजनिक गर्न वेबकास्ट गर्दैछ। तपाईँले विभिन्न स्थानबाट यो प्रस्तुति हेर्न सक्नुहुन्छ। त्यो मध्ये एक युरोपियन स्पेश एजेन्सीको वेभ टि.भी. च्यानल European Space Agency’s web TV channel पनि हो। कार्यक्रम १४१५ बीएसटी १५ ४५ सीईएसटी र ९४५ ईडीटी समय अनुसार हेर्न सकिन्छ। त्यसैगरी क्यानेडियन स्पेश एजेन्सीको युट्युव च्यानल र नासा लाइभ Canadian Space Agency’s YouTube channel; and on Nasa Liveबाट पनि हेर्न सकिन्छ।)

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*