Prakash Adhikari July 27, 2022

सानोथिमी(भक्तपुर), ११ श्रावण। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उत्कृष्ट नतिजा ल्याउनेको संख्या अघिल्ला बर्षहरुको तुलनामा घटेको छ ।

यस पटकको एसईई परीक्षामा ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी भएका थिए । ती मध्ये  ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६सय २७ रहेको परीक्षण बोर्डले जनाएको छ ।

त्यस्तै २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९ सय रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७ सय ५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७ सय ३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५ सय९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २ सय ८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।

गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।

२२ हजार बढी परीक्षामा अनुपस्थित

यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६ सय ४० जनाले परीक्षा नै नदिएको देखिएको छ।

परीक्षामा सहभागी चार लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थीमध्ये सहभागी नभएकाको प्रतिशत ४.५७ प्रतिशत हो।

कोभिड १९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा परीक्षा दिएका हुन्। कोरोना महामारीका कारण २०७६ र २०७७ सालको एसईई विद्यालयले पठाएको अंककै आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो।

विज्ञले अहिलेको नतिजा केही खस्केको भए पनि सन्तोषजनक रहेको बताएका छन्।

कोभिडको असरः बोर्ड अध्यक्ष शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा केही माथिल्लो ग्रेड ल्याउनेको भन्दा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिएको भए पनि नतिजामा सन्तोष नै मान्नुपर्ने बताउनुहुन्छ।

‘‘परीक्षा बोर्डले लिएको २०७५ सालको परीक्षाफलमा भन्दा २०७८ सालको परीक्षाफलमा माथिल्लो ग्रेडको तुलनामा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिन्छ। तर, अहिलेको परीक्षा खस्कियो नै भन्ने अवस्था भने छैन’’, उहाँले भन्नुभयो।

कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा असर परेकाले माथिल्लो तहको भन्दा तल्लो तहको जीपीए ल्याउनेको संख्या बढी भएको हुनसक्ने उहाँको भनाइ छ। ‘‘समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्नु, नियमित कक्षा सञ्चालन नहुनुजस्ता कुराले नतिजा केही खस्केको छ।

पाठ्यपुस्तकको उपलब्धता, नियमित पढाइ, परीक्षा र कक्षाकोठाको संरचनामा ध्यान दिन सकियो भने अझ राम्रो नतिज आउँछ,’’ उहाँले भन्नुभयो।

प्रदेश र स्थानीय तहमा जिम्मा दिनुपर्ने

शिक्षाविद् विनयकुमार कुशियैतले अहिलेको नतिजा राम्रो नभए पनि सन्तोष मान्नुपर्ने बताउनुभएको छ । एसईईलाई केन्द्रको नियन्त्रणभन्दा प्रदेश र स्थानीय तहलाई अधिकार दिएर लिनसके नतिजा राम्रो हुने उहाँको भनाइ छ।

‘‘अहिलेको नतिजा पहिलेको भन्दा केही खस्केको अनुभूति भयो। तर, सन्तोषजनक नै छ। अझ यसलाई राम्रो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई एसईईको सम्पूर्ण जिम्मा दिँदा नतिजा अझ राम्रो हुनसक्थ्यो’’, उहाँले भन्नुभयो।

कक्षा १२ सम्मको अधिकार स्थानीय तहमा गइसकेपछि प्रश्नपत्र निर्माण गर्ने, परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्ने जिम्मा अब प्रदेश र स्थानीय तहलाई नै दिनुपर्ने उहाँको भनाइ छ। एसईर्ई पहिलेको एसएलसी सरहको नभएकाले यसको हन्तान्तरण हुनु आवश्यक रहेको उहाँको बुझाइ छ।

नतिजालाई हेर्दा अब एसईईको स्वरुप परिवर्तन नै गर्नुपर्ने देखिएको शिक्षाविद् हृदयरत्न बज्राचार्यको बुझाइ छ। प्रकाशित नतिजाले विद्यार्थीको पढाइ र सिकाइमा केही असर परेको उहाँ बताउनुहुन्छ।

हाल प्रकाशित नतिजामा केन्द्रले तयार गर्ने प्रश्नपत्रमा मात्र विद्यार्थीको सिकाइ केन्द्रित हुने देखिएकाले अब यसको जिम्मा प्रदेशलाई र स्थानीय तहलाई दिनुपर्ने उहाँले बताउनुभएको हो।

‘‘संघीयता लागू भएको एक दुई वर्षमा अभ्यास नयाँ थियो। त्यो समयसम्म केन्द्रले नै यसको जिम्मा लिग्नु राम्रो थियो। तर, अहिले धेरै समय भइसकेको छ। यो व्यवस्था परिवर्तन गरेर प्रदेश र स्थानीय तहलाई अधिकार सुम्पिनुपर्छ,’’उहाँले भन्नुभयो।

Share Now

Leave a comment.