काठमाडौं, २० श्रावण। झण्डै एक दशको निरन्तर प्रयासपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्चीमा फसेको काउण्टर ग्यारेन्टी रकम फिर्ता पाउने भएका छन् ।
दुवै बैंकले यससम्बन्धमा चलेको मुद्दा चीनको पुनरावेदन तहको अदालतबाट पनि जितेका छन्।
दुई बैंकको झण्डै डेढ अर्ब रुपैयाँभन्दा बढी रकम मेलम्चीमा काउण्टर ग्यारेन्टी दिंदा फसेको थियो।
दुवै बैंकले गत शुक्रबार मुद्दा जितेका हुन्। रकम फिर्ताका लागि दुवै बैंकलाई बुधबार चीनको अदालतले खबर गरेको छ। दुवै बैकले पैसा फिर्ता गर्नका लागि आफ्नो माग दाबी पठाइसकेका छन् ।
दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन। त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने हुन्छ।
मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो। यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।
मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ। यो नेपाली रुपैयाँमा करिब एक अर्ब रुपैयाँ हुन आउँछ। हिमालयन बैंकले पनि ७० करोड रुपैयाँ फिर्ता पाउने छ।
मेलम्ची खानेपानी आयोजनाको सुरु ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक अफ चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।
तर निर्धारित समयमा सुरुड.को काम सम्पन्न गर्न नसकेकोले मेलम्ची खानेपानी आयोजनाले ठेकेदारसंगको संझौता तोड्यो । संझौता तोडिएको ठेकेदारले काउण्टर ग्यारेन्टी बसेका बैंकहरुको जमानत नतिरिकन हिडेपछि नेपाली बैंकहरुले चीनको अदालतमा मुद्दा दायर गरेका थिए ।
नेपाली बंैंकहरुले सुरु तहको अदातलमा मुद्दा जिते पनि चाइना रेल्वे पुनरावेदन तहमा गएकोले भुक्तानी भएको थिएन ।
अब भने नेपाली बैंकहरुले भुक्तानी पाउने बलियो संभावना बढेको छ ।


















