जनकपुरधाम(धनुषा), ७ भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ।
सत्तारुढ जनता समाजवादी पार्टीका एक सांसदका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएपछि उहाँ राजिनामाको दबाबमा पर्नुभएको छ र एक दुइदिनभित्रै राजिनामा दिने मुडमा हुनुहन्छ ।
पार्टी अध्यक्ष यादवले मुख्यमन्त्री राउतलाई राजीनामा गराएर अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी बढाउनुभएको छ ।
मुख्यमन्त्री राउत मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत छोरीलाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचारमा मुछिनुभएको छ ।
सो भ्रष्टाचारमा मुछिएका कर्मचारीहरुमाथि अख्तियारले मुद्दा चलाएको छ । खरिदमा प्रत्यक्ष संलग्न भएकोले अख्तियारले मुद्दा नचलाए पनि उहाँको संलग्ना भएको छानबिनमा उल्लेख गरेको छ ।
दोस्रो चरणमा गरिएको कुनै ब्रान्ड नभएको १७ हजार साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, उपसचिव दिलीपकुमार प्रधान, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास र ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।
दोस्रो चरणमा भएको १७ हजार साइकल खरिदमा मुख्यमन्त्री राउत र प्रमुख सचिवको प्रत्यक्ष संलग्नता नपाइएको भन्दै अख्तियारले उहाँहरुविरुद्ध मुद्दा चलाएन ।तर पहिलो चरणको अनुसन्धान थालेपछि उहाँको बोली बन्द भएको छ ।
अख्तियारले पहिलो चरणमा भएको १० हजार साइकल खरिद प्रक्रणको पनि अनुसन्धान थालेको छ। खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै कुनै कागजातमा समेत आफूले हस्ताक्षर नगरेको तर्क गरेर अख्तियारको दण्डबाट उम्केका मुख्यमन्त्री राउत पहिलो चरणमा दुईपटक गरी १४ हजार भएको साइकल खरिद प्रक्रियामा भने प्रत्यक्ष संलग्न देखिनुभएको छ।
त्यसैले अख्तियारले पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको अनुसन्धान गर्न सोझिएको छ। अख्तियारले गत साउन २० गते मुख्यमन्त्री कार्यालयलाई पत्र लेखेर कागजात माग गरेपछि १४ हजार साइकल खरिदको फाइल नै गायब भएको छ।
फाइल कार्यालयमा फेला नपरेको र अख्तियारलई पठाउन खोजबिन भइरहेको मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्णबहादुर राउतले स्वीकार गर्नुभएको छ।
सो फाइल मुख्यमन्त्री लालबाबु राउत फस्ने डरले सो फाइल गायब गरेको कार्यालय स्रोतको दाबी छ। मुख्यमन्त्री स्वच्छता अभियानमा पनि व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ।
स्वच्छता अभियानको ३२ वटा डीपीआर फाइल पनि मुख्यमन्त्री कार्यालयबाट हराएका छन् ।
तत्कालीन संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर १ (ख) मा निर्वाचित हुनुभएका राउत २ फागुन २०७४ मा मुख्यमन्त्री बन्नुभएको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा मुख्यमन्त्री बन्नुभएका उहाँ पछिल्लो एक वर्षदेखि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा मधेस सरकारको नेतृत्व गरिरहनुभएको छ।